बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन चल्न नदिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।
बैठकको सुरुमै जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले एक करोड रुपैयाँका टुक्रे योजनामा आधारित बजेट ल्याएर संघीयताप्रति जनतामा थप वितृष्णा पैदा गर्न खोजेको आरोप लगाए। उनले बजेट संशोधन नभएसम्म प्रतिपक्षी दुवै दलले सदन सञ्चालन हुन नदिने स्पष्ट अडान व्यक्त गरे।
त्यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेट संशोधन गर्नुपर्ने वा त्यससम्बन्धी छानबिन समिति गठन गरिएपछि मात्र सदन चल्न दिने बताए।
प्रतिपक्षी दलहरूको अवरोधपछि सभामुख रामअशिष यादवले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको घोषणा गरेका छन्।
यसअघि बुधबार पनि बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण १० मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछि बैठक पुनः सञ्चालन हुन सकेको थिएन।
प्रकाशित: १८ असार २०८३ १५:५४ बिहीबार





