वीरेन्द्रनगर–११ गाग्रेतालका ७२ वर्षीय देवीराम तिवारी कर्णालीमा बुद्धिचाल (चेस) खेलको पर्यायजस्तै बनेका छन्। चार दशकदेखि निरन्तर बुद्धिचाल खेल्दै आएका तिवारीले आफू मात्र खेल्ने होइन, कर्णालीका धेरै युवालाई यो खेलप्रति आकर्षित गराउने अभियानसमेत चलाएका छन्।
आजभन्दा करिब ४० वर्षअघि कर्णालीमा बुद्धिचाल खेल्ने वातावरण निकै कमजोर थियो। खेल्ने साथीसमेत सहजै नपाइने अवस्था रहेको स्मरण गर्दै तिवारी भन्छन्, समयसँगै खेलप्रतिको आकर्षण बढेपछि सीमित रूपमा भए पनि प्रतियोगिता र अभ्यासका अवसर विस्तार हुँदै गएका छन्।
वीरेन्द्रनगरमा ‘भरिपूर्ण’ नामक होटल सञ्चालन गरेका तिवारीले त्यही होटललाई बुद्धिचाल प्रवर्द्धनको थलो बनाएका थिए। होटलमा आउने ग्राहक, साथीभाइ र स्थानीयसँग खेल खेल्दै उनले बुद्धिचालबारे जानकारी दिने र खेल्न प्रेरित गर्ने काम गरे। त्यसैको परिणामस्वरूप कर्णालीमा बुद्धिचालप्रति रुचि बढ्दै गएको उनी बताउँछन्।
७२ वर्षको उमेरमा पनि उनको खेलप्रतिको उत्साह भने घटेको छैन। साथीभाइबीचको खेल होस् वा औपचारिक प्रतियोगिता, उनी अझै सक्रिय रूपमा सहभागी हुन्छन्।
यही सक्रियताको निरन्तरतास्वरूप उनी अहिले वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली कप रेटिङ बुद्धिचाल प्रतियोगिता–२०२६’ मा पनि प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा उनले हालसम्म चार खेल खेलिसकेका छन्, जसमध्ये दुई खेलमा जित हासिल गरेका छन्। बाँकी खेल असार २२ गतेसम्म सञ्चालन हुनेछन्।
८४ खेलाडीबीच प्रतिस्पर्धा
कर्णाली प्रदेश बुद्धिचाल संघको आयोजनामा असार २० देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कर्णालीका विभिन्न जिल्लाबाट ८४ जना खेलाडी सहभागी भएका छन्। १० वर्षदेखि ७२ वर्ष उमेर समूहसम्मका खेलाडी एउटै प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।
आयोजकका अनुसार प्रतियोगिताले फरक–फरक उमेर समूहका खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ।
कर्णालीमै पहिलोपटक ठूलो राशिको रेटिङ प्रतियोगिता
कर्णाली प्रदेश बुद्धिचाल संघका अध्यक्ष कार्ल माक्स श्रेष्ठका अनुसार प्रदेशमै पहिलोपटक ठूलो पुरस्कार राशिसहितको रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको हो।
उनले प्रतियोगिताले कर्णालीमा बुद्धिचाल खेलको विकास, नयाँ खेलाडी उत्पादन तथा खेलाडीको अन्तर्राष्ट्रिय रेटिङ सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधामा गरी कुल २ लाख २९ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकको अपेक्षा छ, यस प्रतियोगिताले कर्णालीमा बुद्धिचाल खेलको लोकप्रियता अझ बढाउने, प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि प्रेरित गर्ने र प्रदेशमा खेल संस्कृतिको विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ।
प्रकाशित: २० असार २०८३ १९:५९ शनिबार





