२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

मीन विश्वकर्मा भन्छन्: कांग्रेस आफ्नो राष्ट्रिय भूमिका सशक्त बनाउन केन्द्रित छ

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीले  विगतदेखि निर्वाह गर्दै आएको राष्ट्रिय भूमिकालाई अझ सशक्त बनाउने दिशामा अघि बढिरहेको बताएका छन्। 

कांग्रेसभित्र भावनात्मक, सांगठनिक, वैचारिक र व्यवहारिक रूपमा एकाकार हुन आवश्यक रहेको भन्दै उनले पार्टीलाई एकताबद्ध बनाउन भावनात्मक रूपमा सबैलाई एउटै ठाउँमा ल्याउनुपर्ने र एकतामा बाधा पुग्ने विषयलाई पन्छाउँदै एकतालाई बल पुग्ने पक्षलाई प्राथमिकता दिएर अगाडि बढ्ने बताएका छन्। 

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र विभिन्न प्रस्ताव र फरक मत आउनु स्वाभाविक भएको भन्दै केही विषयमा विमति भए पनि अन्ततः सहमति खोज्ने प्रक्रिया नै लोकतान्त्रिक अभ्यास भएको र त्यसका लागि केही समय लाग्ने बताए। 

उनले पार्टीको आकार घटेकोमा चिन्तित रहेको भन्दै पार्टीभित्र रहेका सबै नेता–कार्यकर्ताले साना–साना मतभेदभन्दा माथि उठेर पार्टीको हितलाई केन्द्रमा राख्नुपर्ने समेत बताएका छन्।  

उनले गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टीभित्र अन्तरकलह देखिएको स्वीकार गर्दै त्यसपछि निर्वाचनमा सबै पक्ष एकताबद्ध भएर अघि बढेको स्मरण गरे। वैशाखमा आएको अदालतको फैसला पनि पार्टीले स्वीकार गर्दै अघि बढेको स्मरण गर्दै उनले पार्टीभित्र देखिएका असहमतिमाथि सहमति खोज्ने अभ्यास रहँदै आएको बताए। 

विश्वकर्माले आन्तरिक एकतालाई थप सुदृढ बनाउँदै नेपाली कांग्रेसलाई राष्ट्रिय राजनीतिको भुमिकामा अगाडी बढ्ने विश्वास व्यक्ति गरेका छन्।   

प्रकाशित: १९ असार २०८३ १७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App