नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिका विषयमा बागमती प्रदेशस्तरका नेताहरूसँग बृहत् छलफल गरेका छन्।
बालुवाटारस्थित ओपेरा होटलमा आयोजित उक्त कार्यक्रममा १५औं महाधिवेशनको तयारी र पार्टीभित्रको आन्तरिक एकताका विषयमा केन्द्रित रहेर सुझाव संकलन गरिएको हो।
छलफलमा सहभागी नेताहरूले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक गरिनु अव्यवहारिक हुने अडान राखेका छन्।
अहिलेको समयमा सदस्यता अध्यावधिक गर्ने कार्यले जटिलता थप्ने भन्दै उनीहरूले यसलाई रोक्नुपर्नेमा जोड दिए।
सहभागीहरूले विशेष महाधिवेशनका कारण पार्टीमा एकता कायम हुन नसकेको धारणा राख्दै कांग्रेसलाई एक ढिक्का बनाएर लैजाने मुख्य जिम्मेवारी सभापतिकै भएको बताए।
पार्टीको पछिल्लो अवस्था र आगामी महाधिवेशनलाई लक्षित गरी रणनीतिक योजना बनाउन डा. कोइरालाले यो परामर्श थालेका हुन्।
भेलामा कांग्रेसका नेताहरू डा. शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियार, नेता एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाईं, राजीव कोइराला, टेकप्रसाद गुरुङ र उमेशजंग रायमाझीको उपस्थिति थियो।
त्यसैगरी डा. गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा, संघीय सांसदहरू डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटासहित बागमती प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू गरी कुल १२३ जना नेताहरूको सहभागिता रहेको थियो।
प्रकाशित: १७ वैशाख २०८३ १५:२१ बिहीबार





