२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

पश्चिम एशिया द्वन्द्वको असर नेपालको पर्यटन क्षेत्रमा

पश्चिम एशियामा विगत केही हप्तादेखि भू-राजनीतिक तनाव बढेसँगै यसको असर नेपालका अन्य क्षेत्रका साथै पर्यटन क्षेत्रमा पनि देखिएको छ।

अमेरिका, इजरायल र इरानमा जारी द्वन्द्व र अस्थिरताले नेपालमा पर्यटकीय गतिविधिमा प्रत्यक्ष प्रभाव पारेको छ। नेपालमा पर्यटकीय सिजन सुरु भए पनि पश्चिम एशियाको तनावले नेपाल घुम्न आउन चाहेका विदेशी पर्यटकले आफ्नो भ्रमण योजना पछि सार्न बाध्य भएका छन्।

नेपाल एशोसियसन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सिएन पाण्डे भन्छन्, 'पश्चिम एशियाको समस्याले संयुक्त अरब इमिरेट्स, कतार र टर्कीजस्ता ‘ट्रान्जिट प्वाइन्ट’मा समेत तनाव बढाएको छ। यसले उडान अनिश्चित भएको कारण नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ।'

उक्त द्वन्द्वका कारण हवाई इन्धनको मूल्यमा भारी वृद्धि भएको छ भने नियमित र छोटा उडान पनि लामो र झन्झटिलो ट्रान्जिटसँग भएकाले उडानको संख्या कम भएको छ। नाट्टाका पूर्वअध्यक्ष पाण्डे भन्छन्, 'पर्यटकीय सिजनको मुखमा हवाई इन्धन मूल्य बढ्दा टिकटको दरसमेत उच्च भएकोले अपेक्षाअनुसारको पर्यटक नेपालमा आउन सकेका छैनन्।'

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को मार्चमा नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या सन् २०२५ को मार्चभन्दा कमी देखिएको छ। सन् २०२५ को मार्चमा १,२१,६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२६ को मार्चमा १,२०,५१६ पर्यटक नेपाल पुगेका छन्। जनवरी र फेब्रुअरीको तुलना गर्दा वृद्धि भएपनि मार्चको तथ्याङ्कले निराशाजनक स्थिति देखाउँछ। भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्र अहिले पश्चिम एशियाको द्वन्द्वको मारमा परेको छ।

नेपालदेखि हङ्कङ हप्ताको सातै दिन उडान भर्दै आएको क्याथे प्यासिफिक एयरलाइन्सका प्रमुख जुनु मलेखु भन्छन्, 'पश्चिम एशियाको द्वन्द्व सुरु हुनुपूर्व नेपाल-हङ्कङ मार्गको भाडा ८०-८५ हजार रुपैयाँ लाग्थ्यो। द्वन्द्वपछि इन्धन मूल्य बढ्दा भाडा एक लाख पाँच हजार रुपैयाँसम्म पुगेको छ। यसका कारण टिकट ‘क्यान्सिल’ गर्ने यात्रुको संख्या बढेको छ।'

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य कुमारमणि थपलिया भन्छन्, 'हवाई इन्धनको मूल्य वृद्धि प्रत्यक्ष रूपमा नेपालको पर्यटन क्षेत्रमा असर गरेको छ। पश्चिम एशियाको द्वन्द्व केही शान्त भए तापनि हवाई भाडा बढ्दा पर्यटकको संख्या घटेको छ।'

हवाई इन्धन र भाडा बढ्दा यसको असर लामो समयसम्म रहिरहने चिन्ता थपलियाले व्यक्त गरेका छन्। कतिपय एयरलाइन्सले उडान मार्ग परिवर्तन र टिकट दर वृद्धि गरेकाले यात्रु अन्य गन्तव्य रोज्न बाध्य भएका छन्। युरोप, अमेरिका लगायतका मुलुकसँग नेपालको सिधा हवाई सम्पर्क नहुँदा पर्यटकमा अन्यौलता थपिएको छ। यसले होटल बुकिङ, ट्रेकिङ प्याकेज र साहसिक पर्यटन गतिविधिमा प्रत्यक्ष असर पुर्‍याएको छ।

ठमेलमा सञ्चालित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुयाँल भन्छन्, 'पश्चिम एशियाको द्वन्द्वले पर्यटकीय सिजनको मुखमा धमाधम होटल बुकिङ ‘क्यान्सिल’ भएकोले व्यवसाय प्रभावित भएको छ। एकातर्फ इन्धन मूल्यवृद्धि, अर्कोतर्फ ट्रान्जिट तनावका कारण अपेक्षित पर्यटक आउन सकेका छैनन्।'

फुयाँल थप्छन्, 'यदि मध्यपूर्व क्षेत्रको तनाव दीर्घकालीन रह्यो भने नेपालको पर्यटन पुनरुत्थानमा थप चुनौती थपिन सक्छ।'

नेपालको मुख्य पर्यटकीय सिजन मार्च, अप्रिल र मे मानिन्छ। तर ठमेलमा गत वर्षको तुलनामा यस वर्ष कम मात्रामा पर्यटक देखिएका छन्। ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमला भन्छन्, 'होटलमा जम्मा ५०-६० प्रतिशत अकुपेन्सी छ। ठमेलका गल्लीहरुमा पनि गत वर्षभन्दा कम मात्रामा पर्यटक देखिएका छन्।'

प्रकाशित: १७ वैशाख २०८३ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App