राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दल सत्ता र सार्वजनिक सेवाको संस्कार बदल्न केन्द्रित हुने बताएका छन्।
संसदीय दलको अनौपचारिक बैठकमा सांसद र मन्त्रीहरूलाई निर्देशन दिँदै लामिछानेले रास्वपा मालिक बन्न खोज्नेहरूका लागि नभई सेवक र सहजकर्ताहरूको दल भएको बताएका हुन्।
बैठकमा भएका छलफलबारे जानकारी दिँदै पार्टी प्रवक्ता मनिष झाले अबदेखि सांसद र मन्त्रीबिच निश्चित समयको अन्तरालमा मन्त्रालयका सचिवसहितको मन्त्रालयगत अन्तरक्रिया गरिने बताए।
सभापति लामिछानेले सरकार फेरिएसँगै सार्वजनिक सेवा प्रवाहमा जनताले महसुस गर्ने गरी परिवर्तन ल्याउनु अबको मुख्य प्राथमिकता रहेको उल्लेख गरे।
सुकुम्बासी समस्याका विषयमा बोल्दै लामिछानेले जोखिमपूर्ण स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सरल तरिकाले व्यवस्थापन गर्ने सरकारको योजना रहेको बताए।
‘कसैलाई घरबारविहीन बनाउनु सरकारको उद्देश्य होइन, सरकारले सबै सुकुम्बासीको गाँस, बास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ,’ उनले भने, ‘बाढी र ढलको छेउमा नागरिकलाई राखेर भोट बैंकको राजनीति गर्नु गलत हो।’
उनले यस समस्या समाधानका लागि विशेष आयोग बनाएर शीघ्र काम गरिने समेत जानकारी दिए।
प्रकाशित: १६ वैशाख २०८३ १५:०७ बुधबार





