नेकपा (एमाले) नेता महेश बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकालमाथि विराटनगरमा आक्रमण गर्ने दुवै युवा नेविसंघ कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।
आइतबार बस्नेत र ढकाल इटहरीमा आयोजना हुने युवा संघको जनजागरण अभियानमा सहभागी हुन विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा बेलुनभित्र रातो रङको मसी हालेर प्रहार गर्दा २ जना युवालाई प्रहरीले पक्राउ गरेको हो । नेताद्वयलाई दुर्व्यवहारको प्रयास भएपछि विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जना नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध रहेको खुलेको छ । पक्राउ परेकामध्ये गौतम नेविसंघ महेन्द्र मोरङ क्याम्पसका इकाई सभापति र नेपाली कांग्रेस विराटनगर महाननगर समितिका सदस्य हुन् । अर्का कुँवर नेविससँग आवद्ध छन् । उनी भदौ २३ र २४ गतेको ‘जेनजी’ युवा अभियानमा समेत सक्रिय थिए । पार्टीको भ्रातृ संगठनमा आवद्ध रहेको सार्वजनिक भएपछि उनी सरकारसँगको वार्ता टोलीमा सहभागी हुन पाएका थिएनन् ।
एमाले नेताहरु आउने खबरसँगै सुरक्षा अवस्था कडा बनाइए पनि विमानस्थलको गेट बाहिर रहेका युवाहरूले मसी भरिएको बेलुन प्रहार गरेका थिए । युवाहरूले प्रहार गरेको बेलुन बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीको सिसामा लागेको थियो ।
अर्पित कुवँरले ‘विरोध गर्ने शैली हुन्छ, मैले कसैलाई निषेध गरेको हैन । मैले उहाँहरुको शैली र प्रवृतिलाई कालो झण्डा देखाएको हु, उहाँहरूले भाद्र २३ मा मचाएको हत्याकाण्डको विरोध गर्दै महेश बस्नेत सवार गाडीमा रातो मसि छ्यापेको हुँ । हाल म मोरङ प्रहरीको हिरासतमा छू, सम्पूर्ण साथीहरु मोरङ प्रहरी अगाडि आउनु होला ।’ आफ्नो फेसबुकमा लेखेका छन् ।
एमालेका नेताद्वय चढेको गाडीलाई लक्षित गरेर मसी छ्यापेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
प्रकाशित: ७ मंसिर २०८२ १७:१० आइतबार





