१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा, रोकिएका सवारी गन्तव्यतर्फ रवाना

अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको गुल्मीस्थित कालीगण्डकी करिडोर सडकखण्ड मंगलबार साँझदेखि पुनः सञ्चालनमा आएको छ।

पहिरो पन्छाएसँगै बिहानदेखि बाटोमा रोकिएका सम्पूर्ण सवारीसाधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।

कालीगण्डकी गाउँपालिका–२ राक्सेमा मंगलबार बिहान सडकमाथिबाट खसेको पहिरोका कारण यो सडकखण्ड पूर्ण रूपमा बन्द भएको थियो।

सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षा निकायको समन्वयमा दिनभर डोजर परिचालन गरी पहिरो पन्छाएपछि यातायात सेवा सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

सडक अवरुद्ध भएलगत्तै प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक (एएसआई) बाबुराम श्रेष्ठको नेतृत्वमा सुरक्षा टोली कार्यक्षेत्रमा खटिएको थियो।

सडक खुलेपछि पूर्तिघाट र रुद्रवेणी क्षेत्रमा लामबद्ध रहेका यात्रुवाहक तथा मालवाहक गाडीहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

कालीगण्डकी करिडोर यस क्षेत्रको प्रमुख लाइफलाइन मानिन्छ।

प्रकाशित: १६ भाद्र २०८३ २१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App