११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

‘अघिल्लो कार्यकालमा भक्तपुरको कायापलट गरे, यसपटक पुनः परीक्षण हुन चाहन्छु’

नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं-२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई भक्तपुरबाट पूरा गर्ने उद्घोषसहित बस्नेतले विगतको कार्यकालमा सुरु गरेका अधुरा योजना फत्ते गर्ने र केही महत्वाकांक्षी नयाँ योजना अघि सारेका छन्।

सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा बस्नेतले पूर्वाधार, पर्यटन, स्वास्थ्य र शिक्षालाई केन्द्रविन्दुमा राखेका छन्।

उनले भक्तपुरलाई विकासको मानक बनाउने दाबी गर्दै यसपटक वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने देखि मध्यपुर थिमिमा रात्रीकालीन बजार चलाउने सम्मका योजना अघि सारेका छन्।

उनले देशकै जेठो वीर अस्पताल लाई भक्तपुरमा स्थानान्तरण गरी चिकित्सा अध्ययन प्रतिष्ठान स्थापना गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

साथै, सूर्यविनायक नगरपालिकाको अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्ने र नेपाल-कोरिया मैत्री अस्पतालको स्तरोन्नति गर्ने योजना उनले समावेश गरेका छन्।

पर्यटन प्रवर्द्धनका लागि बस्नेतले भक्तपुरका डाँडाहरूलाई समेटेर विशेष प्याकेज ल्याएका छन्।

विगतको कार्यकालमा सडक विस्तारलाई मुख्य उपलब्धि मानेका बस्नेतले यसपटक सूर्यविनायक-धुलिखेल सडक निर्माण सम्पन्न गराउन पहल गर्ने बताएका छन्।

त्यस्तै, पेप्सीकोला-सानोथिमि-सल्लाघारी सडक विस्तार, अरनिको राजमार्गको सौन्दर्यीकरण, र कोटेश्वरको ट्राफिक जाम कम गर्न जडिबुटी-मनोहरा करिडोरमा बेलब्रिज सञ्चालनलाई प्राथमिकतामा राखिएको छ।

भक्तपुरको खानेपानी समस्या समाधान गर्न ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिने प्रतिवद्धता पत्रमा उल्लेख छ। यसका लागि ‘वाटर बैंकिङ’ को अवधारणा कार्यान्वयन गर्ने र स्मार्ट ट्वाइलेटहरू निर्माण गर्ने नयाँ योजना अघि सारिएको छ।

बस्नेतले प्राविधिक शिक्षालाई जोड दिँदै ‘एक पालिका, एक प्राविधिक शिक्षालय’ को अवधारणा ल्याएका छन्। सामुदायिक क्षेत्रमा ‘पोलिटेक्निक कलेज’ स्थापना गर्ने र ‘एक घर एक स्नातक’ अभियानको लक्ष्य लिने उनले बताएका छन्। युवाहरूलाई रोजगारीसँग जोड्न स्वरोजगार उन्मुख कार्यक्रम ल्याउने उनको योजना छ।

सहरी विकासतर्फ गठ्ठाघरमा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने र परम्परागत बस्तीलाई जोगाउँदै नयाँ क्षेत्रमा ‘ल्यान्ड पुलिङ’ मार्फत स्मार्ट सिटीको विकास गर्ने योजना प्रतिवद्धता पत्रमा समेटिएको छ।

आफ्नो अघिल्लो कार्यकालमा भक्तपुरमा विकासको कायापलट गरेको दाबी गर्दै बस्नेतले सोही जगमा टेकेर बाँकी काम पूरा गर्न मत मागेका छन्।

उनले विगतमा हनुमन्ते कोरिडोर निर्माण, ५ अर्ब ५० करोडको सडक, रंगशाला निर्माण र दर्जनौं पुल निर्माणलाई आफ्नो सफलताको रूपमा प्रस्तुत गरेका छन्।

बस्नेतले प्रतिवद्धता पत्रमा भनेका छन्, ‘हामी र हाम्रा कार्यक्रम पार्टीमुखी होइनन्, जनमुखी छन्। भक्तपुर क्षेत्र नं-२ का जनतामा म विकासप्रेमी, कर्मशील र निडर उम्मेदवारको रूपमा पुनः परीक्षण हुन चाहन्छु।’

प्रकाशित: १० फाल्गुन २०८२ १६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App