नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सरकारले स्रोतको सुनिश्चित नगरी आयोजनाहरू मात्रै घोषणा गरिदिँदा महत्वपूर्ण आयोजनाहरू अलपत्र परिरहेको बताएका छन्।
बुटवल उद्योग वाणिज्य संघको ७३ औँ स्थापना दिवसका अवसरमा आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा सरकार र राजनीतिक दलहरूले सस्तो लोकप्रियताका लागि स्रोतको सुनिश्चित नगरी अगाडि सारेका आयोजनाले गति लिन नसकेको बताएका हुन्।
बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा विलम्ब हुनुको मुख्य कारण पनि सरकार र राजनीतिक दलहरूको उदासीनता र स्रोतको अभाव नै भएको उनले बताए।
मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहे पनि राज्य गम्भीर नभइदिँदा देशैभरि औद्योगिक विकासको काम घोषणामै सीमित भएको बताए। रुपन्देहीमा औद्योगिक तथा व्यावसायिक विकासको पर्याप्त सम्भावना भए पनि बीसौँ वर्ष भइसक्दा पनि भैरहवाको सेज पूर्ण सञ्चालनमा आउन नसक्नु, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन हुन नसक्नु जस्ता थुप्रै कारणले बाधा परिरहेको बताए।
देश विकासको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै उनले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी अल्झनहरूमा सुधार गर्नुपर्ने खाँचो औँल्याए। ‘कानुनी अल्झन, राज्य सञ्चालकमा देखिएको गैरजिम्मेवारीपन र विकासको दीर्घकालीन रणनीति नहुँदा ठुलादेखि साना आयोजनाहरू अलपत्र पारिएका छन्, लगानीको सुरक्षाको प्रत्याभूति हुन सकेन,’ श्रेष्ठले भने।
मुलुक अहिले निर्वाचनको संघारमा रहेको भन्दै उनले राजनीतिक दलहरूले पनि आफूले गर्न सक्ने कामको मात्रै प्रतिबद्धता गर्नुपर्नेमा जोड दिए। ‘म सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु तपाइँहरूले जे जे काम गर्न सक्नुहुन्छ त्यो मात्रै बोल्नुस् र बोलेको कुरा पुरा गर्नुस्। झुटा प्रतिबद्धता गरेर जनतालाई झुक्याउने काम नगर्नुस्,’ महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने।
आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि मुलुक नयाँ दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उनले दलका घोषणापत्रमा आर्थिक क्षेत्र समेटिनु सकारात्मक भए पनि पुरा गर्न सक्ने कामको मात्रै प्रतिबद्धता गरेर मत माग्न आग्रह गरे। श्रेष्ठले निजी क्षेत्रको हकहित र व्यावसायिक प्रवर्द्धनसँगै मुलुकको अर्थतन्त्रमा योगदान दिन सरकारको आर्थिक सल्लाहकारको रूपमा महासंघले प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनी महासंघको विधान अनुसार आगामी चैतमा हुने महाधिवेशनपछि स्वतः अध्यक्ष हुनेछन्। श्रेष्ठले प्रदेश, जिल्ला र नगर उद्योग वाणिज्य संघहरूलाई पनि प्रदेश र स्थानीय सरकारहरूले आर्थिक सल्लाहकारको भूमिकामा राखेर जानुपर्ने बताए।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले संघले उद्योगी व्यवसायीको हकहितसँगै यस क्षेत्रको औद्योगिक, व्यावसायिक र सामाजिक विकासमा लगानीसहितको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए। संघले शैक्षिक विकासका लागि लुम्बिनी वाणिज्य क्याम्पस स्थापना, सिद्धार्थ गौतम बुद्ध क्याम्पसको स्थापना, बुटवल बहुमुखी क्याम्पसमा विज्ञान संकाय सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए। स्वास्थ्यमा बुटवलमा सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा स्थापना, लुम्बिनी प्रादेशिक अस्पतालमा तत्कालीन समयमा प्रसूति कक्ष स्थापना, क्याबिनहरूको निर्माण लगायतका कामहरू गरेको जानकारी गराए।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभन्दा पनि पहिले स्थापना भएको बुटवल उद्योग वाणिज्य संघले यस क्षेत्रको आर्थिक, सामाजिक र औद्योगिक विकासमा विगतदेखि नै नेतृत्वदायी भूमिका खेल्दै आएको बताए। बुटवल उपमहानगरपालिका र संघसँगको सहकार्यमा थुप्रै महत्वपूर्ण कामहरू भएको नगरप्रमुख पाण्डेयले जानकारी दिए।
कार्यक्रममा बोल्दै संघका पूर्वकार्यसमिति सदस्य तथा आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका चुन्नप्रसाद शर्मा पौडेलले निजी क्षेत्रले भोग्दै आएका समस्याहरूको निरूपण गर्दै उद्योग, व्यापार, व्यवसायमैत्री वातावरण र लगानी संरक्षणको वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।
शर्माले आफू विगत लामो समयदेखि उद्योगी व्यवसायीको रूपमा यस क्षेत्रको आर्थिक र सामाजिक विकाससँगै रोजगारी सिर्जनामा खटिइरहेको भन्दै अब जनताबाट परीक्षण भएर देश विकासमा योगदान दिने बताए।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले बोल्दै राज्यसँग भएका सीमित साधन स्रोतको परिचालन गर्दै मुलुकमा विकास र समृद्धि भित्र्याउन सरकारले निजी क्षेत्रलाई साथमा लिएर काम गर्नुपर्नेमा जोड दिए।
यसैबिच संघले ७३ औँ स्थापना दिवसकै अवसर पारेर पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौललाई सम्मान गरेको छ। २०६१ देखि २०६३ सम्म अध्यक्ष भएर संघको श्रीवृद्धि र यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिएको हो। सम्मान ग्रहण गर्दै लाकौलले संघले गरेको सम्मानले आफूलाई थप ऊर्जा प्राप्त भएको बताए। लाकौलकै नेतृत्वमा २०६२ देखि बुटवलमा कृषि मेला पनि लाग्न थालेको हो। त्यसयता संघले निरन्तर कृषि मेला गर्दै आएको छ।
सोही अवसरमा बुटवलका तीन वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना पनि गरिएको छ। संघले बुटवल ४ मा रहेको कान्ति माविमा स्थापित बुटवल उद्योग वाणिज्य संघ रुपन्देही कान्ति मावि अक्षयकोषमा ७१ हजार थप गरी १ लाख १ हजार पुर्याइएको छ। बुटवल ६ को तिलोत्तमा माविमा ५० हजारको र वडा नं ४ मा रहेको लक्ष्मी माविमा १ लाख १ हजार रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो।
प्रकाशित: ११ फाल्गुन २०८२ ०९:२२ सोमबार





