बलिउड अभिनेत्री दिया मिर्जा आफ्नो स्पष्ट विचारका लागि चिनिन्छिन्। सामाजिक मुद्दाहरूमा खुलेर बोल्ने दियाले हालै फिल्म उद्योगमा कायम सौन्दर्यका मापदण्ड र त्यसप्रति पुरुषहरूको व्यवहारबारे कडा टिप्पणी गरेकी छिन्।
एक अन्तर्वार्ताका क्रममा दियाले फिल्म उद्योगमा पुरुषहरूले महिला कलाकारलाई आफ्नो रूप परिवर्तन गर्न बारम्बार अनावश्यक सल्लाह दिने गरेको खुलासा गरिन्। दिया भन्छिन्, ‘मैले कहिल्यै कुनै महिलालाई बसाएर तिम्रो ओठ पातलो भयो, सुई लगाऊ वा तिम्रो स्तन सानो छ, ठूलो बनाऊ भनेकी छैन। तर यस्ता कुरा सधैं पुरुषहरूबाटै आउँछन्।’
दियाका अनुसार आजभोलि धेरै महिलाहरू कस्मेटिक प्रक्रिया अपनाउन बाध्य छन्। उनले भनिन्, ‘यो निकै चाखलाग्दो छ किनकि यो उद्योग चलाउने मानिसहरू पुरुष हुन् र उनीहरू डरको माध्यमबाट यसलाई चलाउँछन्।’ यदि कुनै महिलाले आफ्नो प्राकृतिक रूपमा परिवर्तन गर्ने निर्णय गर्छिन् भने, त्यसको पछाडि कुनै पुरुषले उनलाई आफू पर्याप्त सुन्दर नभएको महसुस गराएको हुन सक्ने दियाको बुझाइ छ। उनले भनिन्, ‘यो डरलाग्दो अवस्था हो।’
अभिनेत्रीले विज्ञापन र मार्केटिङ शैलीप्रति पनि असन्तुष्टि जनाइन्। उनले भनिन्, ‘हामी यस्तो संसारमा बाँचिरहेका छौं जहाँ बाहिरी रूपलाई मात्र महत्व दिइन्छ। शरीर र दिमागको आन्तरिक संरचनामा धेरै कम ध्यान दिइन्छ।’ उनले थपिन्, ‘कस्मेटिक प्रक्रियाबाट गुज्रिएका महिलाले आफूले चाहेको भावनात्मक सन्तुष्टि पाउन सक्दैनन्। यसले उनीहरूलाई सोचे जस्तो खुसी दिँदैन।’
दियाले सौन्दर्यका नाममा उद्योगमा भइरहेको यो मानसिक दबाबप्रति सचेत हुन आग्रह गरेकी छिन्। उमेर बढ्दै जाँदा प्राकृतिक रूपमा देखिने परिवर्तनलाई स्वीकार गर्नुको साटो कृत्रिम उपाय खोज्न लगाउने पुरुषवादी सोच गलत रहेको उनको धारणा छ।
प्रकाशित: २ श्रावण २०८३ २०:१२ शनिबार





