पोखराको रातो पैह्रोमा सेती नदी थुनिएको छ।
पोखरा–१७ र १५ को सिमाना क्षेत्र रातोपैह्रो (पोखरा पर्वतीय सङ्ग्रहालय अगाडि) पट्टी सेती नदी थुनिएको हो। यो यति एयरलाइन्स दुर्घटना क्षेत्रभन्दा तलपट्टी रहेको पोखरा-१७ र १५ जोड्ने सिताराम पुलभन्दा ३ सय मिटर तल पर्दछ।
सधैँ डाँडाबाट करिब एक सय मिटर तल खोँच भएर बग्ने सेती नदी पैह्रोले पुरेपछि झरना बनेर बगेको स्थानीय पत्रकार हरिप्रसाद बास्तोलाले बताए। उनका अनुसार करिब ३ महिना अघि पनि सो ठाउँमा पहिरो खसेको थियो। यद्वपी त्यसले नदीको बहाव भनेको थुनेको थिएन।
तर, शुक्रबार फेरी त्यही ठाउँमा खसेको पहिरोले सेती नदीको बहाव नै थुनेर झरना बनेको उनले बताए। नदीको पूर्व तर्फबाट चट्टानसहितको पहिरो खस्दा नदी थुनिएको उनको भनाई छ। जसले गर्दा पहिरो खसेको भन्दा माथिल्लो क्षेत्रमा ताल बनेको अनुमान गर्दै उनले भने, ‘सेती नदी यस क्षेत्रमा यति माथिबाट कहिल्यै बगेको थिएन। तर पहिरोले नदी थुनिएपछि ५०–६० मिटर माथिबाट झरना झरिरहेको छ। यसको मतलब त्यतिमाथिबाट झरना झर्नलाई माथिल्लो भागमा ताल बनेको हुनुपर्छ।’
अर्का स्थानीय भक्तराम तामाङले पनि यसअघि कहिल्यै त्यस क्षेत्रमा झरना बनेर सेती बगेको नदेखेको बताए। पहिले त सेती गर्जको तल्लो सतहबाट नदी बग्थ्यो’, उनले थपे, ‘अहिले त माथिबाट झरनाझैं बगिरहेको छ। यो देखेर हामी आश्चर्यचकित भएका छौं।’
सेती थुनिएर झरनाझैं बगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दा भने त्रसित बनेका छन्। माथिल्लो क्षेत्रमा थुनिएको नदी एक्कासि फुटेर बाढी आउने खतराले आफूहरू त्रसित बनेको तामाङले बताए। उनले भने, ‘नदीलाई सामान्य अवस्थामा नल्याए भोलि यसले हामी तल्लो क्षेत्रमा बस्नेहरूको उठीबास लगाउने खतरा छ।’
यसैबिच, प्रहरी र सशस्त्र प्रहरीको टोलीले थुनिएको नदीको अवलोकन तथा सम्भावित क्षतिको आङ्कलन गरेको छ।
थुनिएको भन्दा तल्लो क्षेत्रमा गहिराई धेरै भएकाले सो टोलीले तल्लो तटीय क्षेत्रमा क्षति नपुर्याउने निष्कर्ष निकालेको हो। वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज भट्टराईले थुनिएको सेती नदीले तल्लो तटीय क्षेत्रमा क्षति नपुर्याउने बताए। ‘झरनाबाट भए पनि नदी बगिरहेकाले थप क्षति हुने देखिँदैन’,उनले भने, ‘तै पनि थुनिएको ठाउँ खोल्नका लागि पहल गर्नुपर्ने देखिन्छ।’
स्थानीय पत्रकार हरि बास्तोलाले भने क्षति पुर्याउँदैन भनेर चुप लागेर बस्न नहुने बताए। भने, ‘थुनिएकोभन्दा माथिको भागमा ताल बनेको हुनसक्ने देखिएकाले त्यसको निकासका लागि प्रशासन र सरकारले पहल गर्नुपर्छ।’
पोखराको मध्य भागबाट बग्ने सेती नदीका विभिन्न ठाउँमा हरेक वर्ष पहिरो जाने र सेती थुनिने गर्दछ। पृथ्वीचोकभन्दा केही माथि रामघाटको मुख थुनिदा त्योभन्दा माथिल्लो क्षेत्रमा ताल बन्ने गरेको छ।
हरेक वर्ष भारी वर्षा भएको समयमा त्यहाँ ताल पर्दा वरपरका बस्ती डुबानमा पर्ने गरेको छ।
प्रकाशित: २ श्रावण २०८३ १९:५० शनिबार





