आयोजक लिटिल एन्जल्स (एलए) स्कुलले पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज बास्केटबलमा आइतबार विजयी सुरुआत गरेको छ।
हात्तीवनस्थित घरेलु कोर्टमा एलएले एलआरआईलाई १९–१७ ले पराजित गर्यो। एलएका आयुश गोइतले १३ अंक जोडे।
ब्वाइज फुटबलमा लोयल्टी एकेडेमीले एलएलाई २–० तथा ज्ञानोदयले जेम्सलाई ६–० गोलले हराए।
ब्वाइज भलिबलमा वैष्णवीले दोहोरो जित आत्मासात् गर्यो। वैष्णवीले माउन्ट ओलिभलाई २५–२२ र २५–२१ तथा अनल ज्योतिलाई २५–१५ र २५–१५ को सोझो सेटमा पाखा लगायो। अन्य खेलमा माउन्ट ओलिभले अनल ज्योतिलाई २५–९ र २५–१६, भ्याली पब्लिकले बालकुमारीलाई २५–१६ र २५–१४ तथा एलएले बालकुमारीलाई २३–२५, २५–११ र १५–९ ले पन्छाए।
प्रतियोगिताको बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले एक कार्यक्रमबीच उद्घाटन गरिन्। ३ सामुदायिक विद्यालयसहित २२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ५ खेलको प्रतिस्पर्धा हुने एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन्। बास्केटबल, भलिबल, फुटबल, टेबल टेनिस र फुटसल समावेश छन्।
प्रकाशित: ११ फाल्गुन २०८२ ०९:२१ सोमबार





