अर्जेन्टिनाबाट १ अप्रिलमा यात्रामा निस्केको एट्लान्टिक क्रुज जहाजको प्रकोपमा बिरामी परेकामध्ये पाँच व्यक्तिमा हान्टाभाइरस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार थप तीन जना बिरामीमा हन्टाभाइरस सङ्क्रमणको आशङ्का गरिएको छ भने र थप सङ्क्रमित भेटिन सक्ने सम्भावना देखिएको छ।
डब्ल्युएचओले भनेको छ, 'सार्वजनिक स्वास्थ्य सावधानीहरू राम्रोसँग पालना भएमा हाल अर्जेन्टिनाको केप भर्डेबाट स्पेनिस टापु टेनेरिफमा यात्रा गरिरहेको ‘एमभी होन्डियस’मा प्रकोप सीमित हुने अपेक्षा गरिएको छ।'
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भने, 'अहिलेसम्म आठ सङ्क्रमितहरू भेटिएका छन् र तीमध्ये तीन जनाको मृत्यु भएको छ। आठ सङ्क्रमितमध्ये पाँचमा हान्टाभाइरस भएको पुष्टि भएको छ र अन्य तीन जनामा शङ्का गरिएको छ।'
जेनेभामा पत्रकारसँग कुरा गर्दै उनले भने, 'यो सङ्क्रमणमा संलग्न हान्टा भाइरसको प्रजाति एन्डिज भाइरस हो, जुन ल्याटिन अमेरिकामा पाइन्छ।'
'एन्डिज भाइरसको सङ्क्रमण फैलिनसक्ने छ हप्तासम्मको अवधिलाई ध्यानमा राख्दै सङ्क्रमित सङ्ख्या अहिले देखिएकोभन्दा बढ्न सक्ने अनुमान गरिएको छ,' उनले भने।
डच झण्डा भएको जहाज अप्रिल १ मा अर्जेन्टिनाको उसुइयाबाट एटलान्टिक महासागर हुँदै केप भर्डे पुगेको थियो। यो बुधबार टेनेरिफको उत्तरतिर प्रस्थान गरेको थियो।
टेड्रोसले आफू जहाजका क्याप्टेनसँग नियमित सम्पर्कमा रहेको बताएका छन्। 'उहाँले मलाई जहाज फेरि चल्न थालेपछि मनोबल उल्लेखनीय रूपमा सुधार भएको छ। म उहाँलाई आफ्नो हेरचाहको कर्तव्यमा रहेकाहरूको सुरक्षाका लागि गरेका सबै कामका लागि धन्यवाद दिन्छु,' टेड्रोसले भने।
डब्ल्यूएचओका आपतकालीन सेवा तथा प्रतिक्रिया निर्देशक अब्दी रहमान महमुदले भने, 'यदि सार्वजनिक स्वास्थ्य सावधानीहरू लागू गरियो र सबै देशहरूमा ऐक्यबद्धता देखाइएको छ यो प्रकोप सीमित हुनेछ।' दुर्लभ रोग भनिएको हान्टाभाइरस सामान्यतया सङ्क्रमित मुसा र पिसाब, मलमूत्र र थुकको माध्यमहरूबाट फैलन्छ।
एन्डिज भाइरस दक्षिण अमेरिकामा पाइन्छ। यो मानिसबाट मानिसमा सर्ने एक मात्र प्रजाति हान्टाभाइरस हो। टेड्रोसले अर्जेन्टिनाले पाँच देशका प्रयोगशालामा दुई हजार ५०० परीक्षण सामग्री (किट) पठाउने बताएका छन्।
हान्टाभाइरस कोरोनाभन्दा खतरनाक
वैज्ञानिकहरूका अनुसार हान्टाभाइरस हावाबाट सर्दैन, तर यो कोरोना भाइरसभन्दा खतरनाक छ। यस रोगको लागि कुनै विशेष उपचार छैन। उपचार केवल लक्षणहरूमा आधारित हुन्छ। गम्भीर बिरामी बिरामीहरूलाई सास फेर्न मद्दत गर्न भेन्टिलेटरको आवश्यकता पर्न सक्छ।
यस रोगबाट लगभग ३८ प्रतिशत बिरामीको मृत्यु हुन्छ। यदि बिरामी वृद्ध वा पहिले नै कमजोर छ भने जोखिम बढ्छ। वैज्ञानिकहरूले हालसम्म हान्टाभाइरसका पाँच प्रकारहरू पत्ता लगाएका छन्, जसमध्ये सबैभन्दा खतरनाक अराराक्वारा भाइरस हो, जसको संक्रमणबाट मृत्युदर ५४ प्रतिशत छ।
अर्को प्रजाति, सिन नोम्ब्रे भाइरसको मृत्युदर ४० प्रतिशत छ। तेस्रो प्रजाति, हान्टान भाइरसको मृत्युदर ५-१० प्रतिशत छ। यी तीन प्रजातिहरू मध्ये कुनै पनि प्रजातिको संक्रमणले कोरोनाभाइरसको तुलनामा मृत्यु हुने सम्भावना धेरै बढी हुन सक्छ।
अहिलेसम्म कुनै खोप छैन, न त कुनै निश्चित उपचार नै छ। यस्ता बिरामीहरूलाई विशेष हेरचाह र अक्सिजन थेरापी चाहिन्छ। जति चाँडो केस पत्ता लाग्छ, त्यति नै राम्रो। यदि रोग गम्भीर भयो भने, ७-१० दिन भित्र मृत्यु हुन सक्छ।
प्रकाशित: २५ वैशाख २०८३ १०:१३ शुक्रबार





