१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

बालेनले भने- अब काठमाडौं पशुपति दर्शन गर्न आउनुस्, अधिकार माग्न धाउनुपर्दैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नागरिकले प्रशासनिक कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका छन्।

सोमबार जनकपुरधाममा आयोजित ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले संघीयता आए पनि अधिकारको केन्द्रीकरण नहटेको भन्दै आक्रोश पोखे।

आफ्नो सम्बोधनको सुरुवा मैथिली भाषामा गर्दै उनले मधेससँगको आफ्नो आत्मीयता दर्शाएका थिए।

‘जनकपुरको सामान्य प्रशासकीय हेरफेर गर्नुपर्दा वा कर्मचारी सरुवा गर्नुपर्दा पनि काठमाडौं नै जानुपर्ने बाध्यता आज पनि छ,’ बालेनले भने, ‘तपाईंहरू काठमाडौं त केवल घुम्न र पशुपतिनाथको दर्शन गर्नका लागि जाने वातावरण बन्नुपर्छ, काम लिएर धाउनका लागि होइन।’

काठमाडौं महानगरको मेयर हुँदा मधेसबाट आएका मिटरब्याज पीडित र उखु किसानको पीडा देख्दा आफू भावुक भएको तर अधिकार क्षेत्रको सीमितताले गर्दा न्याय दिन नसकेको उनले स्मरण गरे।

‘उखु किसान र मिटरब्याज पीडितहरू रुदै काठमाडौं आउँदा एउटा मेयरको हैसियतले मैले केही गर्न सकिनँ,’ उनले भने, ‘अब त्यो अवस्थाको अन्त्य गर्नुपर्छ।’

बालेनले काठमाडौंमा आफूले भाषणमा नभई व्यवहारमा समाजवाद लागू गरेको दाबी गरे। उनले भने, ‘काठमाडौंका निजी विद्यालयहरूमा २० हजार विद्यार्थीले अहिले निःशुल्क पढिरहेका छन्, पोखरी र सम्पदाहरूको संरक्षण भइरहेको छ। मेरो नजरमा समाजवाद भनेको यही हो।’

उनले गरिब र विपन्नका छोराछोरीले पैसा नभए पनि राम्रो शिक्षा र स्वास्थ्य पाउनु नै वास्तविक समाजवाद भएको बताउँदै अब मधेस र सिंगो देशको विकास सोही मोडलमा हुनुपर्नेमा जोड दिए।

प्रकाशित: ५ माघ २०८२ १६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App