नेकपा (एमाले)मा ११औँ राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओली पछाडिको वरीयतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई राखिएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीपछिको वरीयतामा बादललाई राखिएको हो। सचिवालय बैठकमा नेताहरूको ‘रो’ पनि वरिष्ठताको आधारमा नै कायम गरिएको देखिन्छ।११औँ महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष पद खारेज गरेर पाँच जना उपाध्यक्षहरू रहेका छन्।

बैठकमा अध्यक्ष ओलीको दाहिनेतिर बादल बसेका थिए भने त्यसपछि उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त थिए।
अध्यक्ष ओलीको देब्रेतिर महासचिव शंकर पोखरेल बसेका थिए। त्यसपछि तीन जना उपमहासचिवहरू क्रमश: लेखराज भट्ट, रघुविर महासेठ, योगेश भट्टराईलाई देख्न सकिन्छ।

त्यस्तै, सचिवमा अघिल्लो कार्यकाल पनि सचिव रहेका छविलाल विश्वकर्मा, पद्मा आर्याल रहेका छन् भने नयाँ थप भएका पदाधिकारीमा खगराज अधिकारी, भानुभक्त ढकाल रहेका छन्। ढकालपछि शेरधन राई, यमलाल कँडेल बसेका थिए। १९ जना पदाधिकारीमा कँडेलपछि राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत बसेका थिए।
उनीहरूको वरीयता पनि सोही अनुसार रहेको ओलीनिकट स्रोतले जनाएको छ। स्रोतका अनुसार वरीयताको विषयमा टुंगो भने पार्टीले औपचारिक रूपले कार्यविभाजन गर्ने छ। तर यहीँ क्रमलाई नै निरन्तरता दिने उनले बताए।

प्रकाशित: १४ पुस २०८२ १०:१९ सोमबार




