२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

मान्छे जोगाउन आगो ननिभाएको सेनाको दाबी

जेन-जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिका सम्बन्धमा नेपाली सेनाले आफ्नो धारणा प्रष्ट पारेको छ। जेनजी आन्दोलनका क्रममा भएको हिंसा, ध्वंश र उसको भूमिकालाई लिएर विभिन्न सञ्चारमाध्यमसँगै सामाजिक सञ्जालमा प्रश्न उठिरहेका बेला सेनाले शुक्रबार पत्रकार सम्मेलन गरेर आफूमाथि लागेको आरोपको प्रतिरक्षा गरेको हो।

सेनाले सिंहदरबारलगायत सार्वजनिक प्रतिष्ठानहरू जोगाउने प्रयास नै नगरेको भन्ने आरोप गलत भएको जनाएको छ। भिडले पहिलो पटक सिंहदरबारको आगलागी गर्दा सेनाले दमकलबाट आगो निभाएको पत्रकार सम्मेलनमा जनाइएको छ। पहिलो पटकको आगोलाई सिंहदरबारभित्रको दमकलले आगो निभएको थियो तर दोस्रो पटक आगो निभाउन जाने क्रममा आन्दोलनकारीहरू नै दमकलमुनि सुतेका कारण समयमा पुग्न नसकिएको सेनाको भनाइ छ। सिंहदरबारमा रहेको दमकल पनि परिचालन हुन नसकेको विषयमा नगारिक दैनिकले समाचार प्रकाशित गरेको थियो।

नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका नेताहरूले पनि यो विषयमा प्रश्न उठाइरहेका छन्। सामाजिक सञ्जालमा पनि सेनाको भूमिकाबारे गम्भीर प्रश्नहरू उठेका बेला सेना समयमै परिचालन भएको दाबी गरिएको छ। ‘सिंहदरबारमा प्रदर्शनकारीलाई भगाउन ४६ राउन्ड हवाई फायर गरियो। हाम्रो टोलीले पटकपटक सिंहदरबारको गेटमा पुगेर प्रदर्शनकारीलाई हटाएको थियो तर पछिल्लो पटक ठुलो संख्यामा चारैतिरबाट मानिस भित्र छिरेपछि आगजनी भयो,’ उपरथी अनुपजंग थापाले भने। उनले त्यतिबेला ठुलो मानवीय क्षति हुने भएपछि बल प्रयोग असम्भव भएको स्पष्ट पारे।

‘सेनाले बल प्रयोग गर्दा ठुलो मानवीय क्षति हुने थियो,’ उपरथी थापाले भने, ‘नियतवश नेपाली सेनाको दमकल समयमा नपुगेको भन्ने होइन, सेनाको दमकलले पहिला नै पुगेर आगो निभाउन सुरु गरेको थियो।’

सेनाले स्थिति थप भयावह हुन नदिई मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा आफूले सक्दो प्रयास गरेको जनाएको छ। उपरथी थापाले आफूहरूले भौतिक सम्पत्तिभन्दा जीवन रक्षालाई पहिलो प्राथमिकता दिएको प्रस्टीकरण दिएका थिए। ‘प्रदर्शनकारीको संख्या यति ठुलो थियो कि हामीले बल प्रयोग गर्दा ठुलो मानवीय क्षति हुन्थ्यो। हामीले मानवीय क्षति हुने देखेरै भौतिक सम्पत्तिमा भएको क्षति रोक्न सकेनौं,’ उनले प्रस्ट भने।

सेनाको विषयमा उठेका सार्वजनिक सरोकारका विभिन्न प्रश्नको एकमुष्ट उत्तर दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलन जेनजी आन्दोलनमा सेनाले के–कस्ता काम गरेको थियो भन्नेमा केन्द्रित रह्यो। सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संरचनाहरू जलिरहँदा नेपाली सेना मुकदर्शक भयो भन्ने आरोप लगाइएको थियो। तर सेनाले त्यसबेला कहाँकहाँ खटिएको र कति संख्यामा खटिएको भन्ने विवरण पनि सार्वजनिक गरेको थियो। सेनाले विमानस्थलको भिडलाई पनि तितरबितर पारेको जनाएको छ। ‘विमानस्थलमा जिलेटिन बोकेर गएका करिब दुई हजार जनाजतिलाई हामीले रोक्यौं। जसले गर्दा भदौ २५ गतेबाट नै विमानस्थल सञ्चालन भएको थियो,’ उपरथी थापाले भने।

सार्वजनिक र निजी सम्पत्तिमा लगाइएको आगो निभाएर शान्ति–सुव्यवस्था कायम गर्ने जिम्मा आफूले लिएपछि २४ गते राति नै आगो निभाइएको सेनाको दाबी छ। ‘हामीले शान्त–सुव्यवस्था कायम गर्ने जिम्मा लिएपछि २४ गते राति नै संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत धेरै ठाउँमा दमकल लगेर आगो निभाएका हौं। कतिपय ठाउँमा हामीले पानी हालेपछि पनि आगो ननिभेको देखियो। हिल्टन होटलमा तीन दिन आगो लाग्यो। त्यहाँ लामो लिस्नो नहुँदा आगो निभ्न समय लाग्यो,’ उपरथी थापाले भने।

६३ विशिष्टको उद्धार

सेनाले जेनजीको प्रदर्शनका क्रममा सेनाले अति विशिष्ट र विशिष्ट व्यक्ति तथा तिनका परिवारका सदस्य ६३ जनाको उद्धार गरेको जनाएको छ। २३ प्रहरीको हवाई उद्धार गर्नुका साथै अन्य एक सय २९ जनाको जमिनबाटै उद्धार गरेको विवरण सेनाले सार्वजनिक गरेको छ। ‘हामीले अति विशिष्ट र विशिष्ट व्यक्ति तथा उनीहरूका परिवारको जीवन रक्षामा ध्यान दियौं,’ उपरथी थापाले भने।

सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मकवानपुर, मन्त्रीहरूलाई भैरवनाथ गण, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सुन्दरीजल लगेर सुरक्षित राखेको थियो। तर उसले पत्रकार सम्मेलनमा कोकसलाई कहाँ राखिएको थियो भन्नेबारे केही खुलाएन। उपरथी थापाका अनुसार भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा ६ सय ८८ वटा सरकारी कार्यालय, दुई सय ५९ वटा निजी निवास, एक सय २८ वटा व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका एक सय ९८ वटा कार्यालय र तीन सय सात वटा प्रहरी कार्यालय तोडफोड र आगजनी भएका थिए। यस्तै नौ सय ७८ वटा हतियार लुटिएकोमा पाँच सय ८६ वटा मात्र फिर्ता भएका छन्।

सेनाको सूचीमा २३ गते २२ जनाको मात्रै मृत्यु

जेनजीको आन्दोलनका क्रममा भदौ २३ र २४ गते ७६ जनाको मृत्यु भएको भनिए पनि सेनाको सूचीमा आन्दोलनका क्रममा जम्मा २२ जना मात्रै मृत्यु भएको देखिएको छ। सेनाका अनुसार ७६ मध्ये २२ जना मात्र प्रदर्शनकारी हुन्। तीन जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको मृत्यु भएको सेनाले जनाएको। तर अन्य ४१ जनाको मृत्यु कसरी भयो भन्नेबारे प्रश्न उठेको छ।

सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी चैत २३ र २४ गतेको घटनाको विस्तृत विवरण सार्वजनिक गर्दा मृत्युको विवरण पनि सार्वजनिक गरिएको हो। भाटभटेनीमा जल्ने तथा विभिन्न व्यक्तिका घरमा आगजनीका क्रममा जलेकाहरूलाई सेनाले अन्यको सूचीमा राखेको हो। सेनाले नौ सय ७८ हतियार लुटिएकोमा पाँच सय ८६ बरामद र फिर्ता भएको समेत विवरण सार्वजनिक गरेको छ।

टिओबी समूहबारे सेना गम्भीर

नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सडकमा देखिएको तिब्बतियन ओर्जिनल ब्लड (टिओबी) समूहबारे गम्भीर भएको छ। उत्तरी छिमेकी मुलुक चीनलाई चिढ्याउने गरी भएको प्रदर्शन र त्यसलाई रोक्न नसकेको अवस्थामा नेपाली सेना गम्भीर बनेको हो। ‘यो विषयमा हामी अध्ययन गरिरहेका छौं,’ सेनाको युद्धकार्य विभागका प्रमुख अनुपजंग थापाले शुक्रबार जंगी अड्डामा उक्त समूहबारे सञ्चारकर्मीलाई यस्तो जवाफ दिएर गम्भीर भएको संकेत गरेका हुन्।

दुई देशको सम्बन्ध भएकाले सेना छिमेक सम्बन्धलाई सुमधुर बनाउन चाहन्छ। तर तिब्बतियन पक्षधरले जेनजी आन्दोलनका क्रममा गरेको प्रदर्शनप्रति सेनाले अध्ययन गरिहेको र पछिल्लो समय टिओबी समूहबारे सेनाको डिएमआईले सूचना संकलन गरिरहेको छ।

२३ गतेको आन्दोलनमा मोटरसाइकलमा निस्किएको उक्त समूहले नै शान्तिपूर्ण रूपमा चलिरहेको जेनजी आन्दोलनलाई उत्तेजनात्मक बनाउन उक्साएको आरोप खेपिरहेको छ। त्यही समूहका एक सदस्यले हतियार पनि प्रदर्शन गरेको देखिएको थियो। प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १ कार्तिक २०८२ ०६:०८ शनिबार