१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

उम्मेदवारी प्रक्रिया व्यवस्थित गर्न सहमति

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन दर्ता प्रक्रियालाई मर्यादित र व्यवस्थित गर्न सर्वपक्षीय सहमति भएको छ। आगामी फागुन २१ मा हुन लागेको निर्वाचनका लागि मंगलबार एकैसाथ मनोनयन दर्ता गरिँदै छ। निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि अपरान्ह पाँच बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्ने समय दिएको छ।

उम्मेदवार मनोनयन दर्ता प्रक्रियालाई मर्यादित र व्यवस्थित ढंगले सम्पन्न गर्न बाँकेमा रहेका राजनीतिक दल तथा उम्मेदवारहरू सहमत भएका हुन्। निर्वाचन सम्पन्न गर्नका लागि क्षेत्र नं २ को नेपालगन्जस्थित पशु सेवा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ। यस्तै क्षेत्र नम्बर १ को राप्ती सोनारी गाउँपालिका कार्यालय अगैया र क्षेत्र नं ३ को खजुरास्थित कपास विकास समितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम थालिएको छ। 

बाँकेमा पनि तीनवटै कार्यालयमा मंगलबार बिहान १० बजेदेखि पाँच बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न पाउनेछन्। बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले तीनवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता प्रक्रियालाई मर्यादित र व्यवस्थित गर्न सर्वपक्षीय सहमति भएको बताए। उम्मेदवारहरू मनोनयन दर्ता गर्न आउँदा निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न उनले सबैले आग्रह गरेका छन्। 

‘म न्यायाधीश पनि हुँ, अहिले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा छु, मैले आफ्नो भूमिका निर्वाह गर्दा यहाँहरूको साझा व्यक्ति छु’, उनले भने, ‘हामीबाट बदनियतपूर्वक वा पूर्वाग्रही रूपमा कुनै काम हुने छैन।’ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले बिहान ११ बजेदेखि अपरान्ह चार बजेसम्म मनोनयन दर्ता गराउन आउने गरी समय मागेका छन्। सबै उम्मेदवारलाई आधा घन्टाको फरकमा समय उपलब्ध गराइएको छ। कार्यालयभित्र मनोनयन दर्ता गराउन आउँदा एकजना उम्मेदवारसँग बढीमा ६ जना व्यक्ति प्रवेश गर्न पाउनेछन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयपरिसरभित्र बाजागाजा बजाउन र होहल्ला गर्न पाइने छैन। 

यस्तै क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय अगैयामा पनि मंगलबार सर्वपक्षीय छलफल गरेर मनोनयन दर्ता गर्न आउँदा आचारसंहिता पूर्णरूपले पालना गर्ने सहमति भएको छ। प्रतिनिधिसभा क्षेत्र नं १ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले मंगलबार बिहान ११ बजेदेखि ४ बजेभित्र मनोनयन दर्ताका लागि उम्मेदवार कार्यालयमा आउने कुराको जानकारी कार्यालयलाई गराएको बताए। ‘मनोनयन दर्ता गर्ने क्रममा बढीमा २५ जना मात्र कार्यालय परिसरमा प्रवेश गर्न पाउने, उम्मेदवारहरूले बाजागाजा नबजाउने जस्ता आचारसंहिता पालना गर्ने सहमति भएको छ’, उनले भने। 

यसैगरी निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ३ का निर्वाचन अधिकृत दशरथ गौतमले उम्मेदवारसहित प्रस्तावक र समर्थकबाहेक अन्य व्यक्ति कार्यालयमा आउन नपाउने र उम्मेदवारले तडकभडक नगर्ने सहमति सर्वपक्षीय बैठकमा भएको जानकारी दिए। ‘मनोनयन दर्ताका लागि उम्मेदवारहरूलाई आधा–आधा घण्टाको फरकमा समय दिएका छौं, बिहान १० बजेदेखि पाँच बजेभित्र उहाँहरूले आएर मनोनयनदर्ता गर्न सक्नुहुनेछ’, उनले भने। 

बाँकेका प्रमुख जिल्ला अधिकारी प्रतिनिधिसभा निर्वाचनका लागि आउन सक्ने सुरक्षा चुनौतीलाई विश्लेषण गरेर आवश्यक रणनीति बनाइएको बताएका छन्। ‘निर्वाचनमा चारवटै सुरक्षा निकायसँगै निर्वाचन प्रहरी परिचालन हुनेछन्, हामी दृढ विश्वासका साथ निर्वाचनको सुरक्षामा होमिएका छौं’, उनले भने। उम्मेदवार, मतदाता र निर्वाचनमा खटिने कर्मचारीलाई भरपर्दो रूपमा सुरक्षा प्रदान गरिने प्रजिअ तामाङले बताए। उम्मेदवारहरू सुरक्षा निकायसँग समन्वय र सम्पर्कमा रहनुपर्ने उनको सुझाव छ।

प्रकाशित: ६ माघ २०८२ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App