नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसबाट निर्वाचित बुटवल उपमहानगरपालिकाका मेयरलाई ‘कमरेड’ भनेर सम्बोधन गरेपछि कार्यक्रममा केहीबरे हाँसोको माहोल बन्यो।
त्यसपछि यसलाई आफ्नो गल्ती नभई मेयर खेलराज पाण्डेसँगको निकटताको अभिव्यक्ति भएको भन्दै उनले रोचक जवाफ फर्काए।
आइतबार बुटवलमा आयोजित माओवादीका दिवंगत नेता रामप्रसाद बन्जाडे ‘टंकमणि’ को शालिक अनावरण तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले झुक्किएर मेयर पाण्डेलाई ‘कमरेड’ भनेका थिए।
आफ्नो गल्तीप्रति मुस्कुराउँदै उनले थपे, ‘पछिल्लो पटक उपमहानगरपालिकाका मेयरले पनि टंकमणिबारे आफ्नो निकटतादेखि उहाँको योगदानबारे महत्त्वपूर्ण ढंगले राख्नुभएको छ। म ‘कमरेड’ भन्न आएँ, खेलराज पाण्डे ज्यूलाई।’
उनले मेयर पाण्डेको भाषणले आफू प्रभावित भएको समेत बताए।
दाहालले आफ्नो सम्बोधनको अधिकांश समय दिवंगत नेता टंकमणिको योगदान र उनीसँगको सहकार्यमा केन्द्रित गरेका थिए। उनले पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्धको तयारीसम्म टंकमणिको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरे।
‘कमरेड टंकमणि एक क्रान्तिकारी योद्धाको रूपमा, पञ्चायतविरोधी आन्दोलनदेखि जतिबेला उहाँ विद्यार्थी नेताको हैसियतले सक्रिय हुनुहुन्थ्यो, त्यतिबेलादेखि नै उहाँको ठूलो योगदान छ,’ दाहालले भने।
प्रकाशित: १५ भाद्र २०८२ १६:४२ आइतबार





