२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

भ्रष्टाचार विरुद्धको कारबाही रोकिएको छैन: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छिन्।

जेन-जी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारिन्।

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी काम गर्न नै आएको हो। जे सकेको गरिरहेका छौँ। युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरूप जसरी पनि हामीले काम गर्नु छ। यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन, हामी रोकिँदैनौँ।’

निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सँगसँगै गरिरहेको उनले बताइन्। भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचना नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको उनले प्रस्ट्याइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी कहाँ अख्तियार दुरूपयोग अनुसन्धान आयोग छ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ। केन्द्रीय अनुन्धान ब्युरो छ, विगतमा ती निकायलाई प्रभावकारी रूपमा काम गर्न नदिइएको हुन सक्छ। दलीय प्रभाव परेको हुन सक्छ, हामी कुनै प्रकारको दबाब दिँदैनौँ।

ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन्, प्रभावकारी ढङ्गले चल्न सकुन, समानान्तर रूपमा धेरै संरचना बनाएर मात्र नतिजा आउने होइन। मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो।’

अहिले अख्तियारले आफ्नो रफ्तार बढाइरहेको उनले बताए।

सबै क्षेत्रको अति दलीयकरण हुँदा मुलुकले प्रगति गर्न नसकेको टिप्पणी गर्दै प्रधानमन्त्री कार्कीले भने, ‘तपाईंहरूले समाचारमा पढिरहनुभएकै होला। केही ठूला भ्रष्टाचारका विषय र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरूले कदम चालेका छन्।’

प्रधानमन्त्री कार्कीले आउँदो चुनावमा युवालाई नै संसद्मा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणासमेत राख्नुभएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँ किसानका नाममा  राजनीति भयो। किसानले मल पाउँदैनन् तर किसानको नेता देश–विदेश घुमिरहेको हुन्छ, मन्त्री–सांसद बनिरहेको हुन्छ, कार्यकर्ता अघिपछि लगाइरहेको हुन्छ। सहुलितको मल, बीउ, ऋणसमेत उसैले एकलौटी गरिरहेको हुन्छ, अरु व्यवसाय गर्नेहरूका नाममा राजनीति भयो, आफ्नो पेसा–व्यवसाय गर्न छाडेर नेतागिरी गर्दै हिँड्ने प्रवृत्ति नै बनेको रहेछ। भ्रष्टाचारको जड यहाँ छ, यस्तो वातावरणमा कसरी देशले उन्नति गर्छ ?’

नेता किरातीसहित प्रतिनिधिमण्डलका अन्य सदस्यले जेनजीका आवाज सम्बोधन चाँडो हुनुपर्ने माग गरेका थिए। उनहरूले आन्दोलनकारी जेनजीमाथि एकातिर प्रहरीले धरपडक गरिरहेको र अर्कोतिर केही दलले घोषित रूपमै गुण्डा परिचालन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

यदि कुनै दलले घोषित रूपमै गुण्डागर्दी गर्न सङ्गठन खोलेर अघि बढ्छ भने जेनजीले प्रतिकार गर्नुपर्ने अवस्था आउन सक्छ भनी उनहरूले चेतावनी दिए।

प्रकाशित: १७ मंसिर २०८२ १९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App