१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

असन्तुष्ट जनमतका नेतामाथि आक्रमणको प्रयास, जनताले कारबाही गरेको प्रवक्ता यादवको जिकिर

पार्टी अध्यक्ष डा. सीके राउतसँग असन्तुष्ट भई ‘जनस्वाभिमान यात्रा’मा निस्केका जनमत पार्टीका नेताहरूमाथि आक्रमणको प्रयास भएको छ। यात्राका क्रममा बारा आइपुगेका निलम्बित उपाध्यक्ष दीपक कुमार साह, निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव र निलम्बित केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारमाथि आक्रमणको प्रयास हो।

अध्यक्ष राउत निकट कार्यकर्ताहरूले नै आफूहरूमाथि आक्रमणको प्रयास गरेको साहले आरोप लगाएका छन्। ‘सङ्गठनका नेता-कार्यकर्तासहित खाना खाएर कार्यक्रममा जान लागेको बेला बिहान ११ बजे महागढीमाई नगरपालिका ३, दहियारमा डा. सीके राउतका निकट विकास सिंहले प्रज्वलनशील पदार्थ गाडीभित्रै फाले,’ उपाध्यक्ष दीपक कुमार साहले भनेका छन्, 'आक्रमणको योजना रहेछ।'

आफूहरूमाथि अध्यक्ष राउतले ज्यान मार्ने उद्देश्यले पार्टीभित्रकै केही 'गुन्डा'हरू परिचालित गरेको आरोप पनि साहको छ। ‘हामी सुरक्षित छौँ। त्यस्तो क्षति भएको छैन। हामी डराएर अभियानबाट भाग्ने छैनौँ, हाम्रो मृत्युपश्चात् पनि अभियान जारी रहनेछ। किनभने हामीले मृत्यु दस्ताबेजमा हस्ताक्षर गरेर यो अभियानमा निस्केका हौँ। मृत्युदेखि प्रवाह छैन। आम जनताले डा. सीके राउत कस्ता डाक्टर हुन् भनेर कर्तुत थाहा पाउन जनतासँग अनुरोध गरेका छन्।‘

पार्टीका प्रवक्ता डा. शरदसिंह यादव भने यसलाई पार्टीभित्रका सच्चा नेता-कार्यकर्ताहरूले देखाएको सक्रियताका रूपमा व्याख्या गर्नुपर्ने बताउँछन्। 'पार्टीबाट निलम्बित व्यक्तिहरूले पार्टीको लेटरहेड, झण्डा चलाउन पाइने कि नपाइने भन्ने कुरामा क्वाइनसनमार्क, निलम्बित व्यक्तिले यसरी संवाद यात्रा निकाल्न पाउने कि नपाउने भन्नेमा पनि क्वाइसनमार्क, पार्टीको हक-हितविरुद्ध गरेपछि त पार्टीभित्रका सच्चा नेता-कार्यकर्ता र जनता त आक्रोशित भइहाल्छन् नि,' उनले भने।

प्रवक्ता यादवले साह, यादव, सोनारलगायतका नेताहरूले पार्टीको विधि र विधानविरद्ध जनसंवाद यात्रा सञ्चालन गरेको जिकिर गरे। 'उहाँहरू त पार्टीबाट निष्कासन त हुनुहुन्न नि, निलम्बित मात्रै हो। उहाँहरू त फेरि पार्टीमा फर्किएर काम गर्न सक्नुहुन्छ। जस्तो: बीपी साह पनि उहिले कारबाहीमा हुनुहुन्थ्यो, अहिले त्यही पदमा बसेर काम गर्दै हुनुहुन्छ। तर, विधि र विधानविपरीत भएपछि त्यस्तो भयो। पार्टीभित्रैका साथीहरूले मोबिल छर्किनुभएछ,' उनले भने।

प्रकाशित: २९ असार २०८२ १७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App