२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन्। भदौ २३ र २४ गतेको विध्वंशबाट गठन भएको गैह्र लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने उनले बताए।  

नेकपा एमाले झापाका अगुवा कार्यकर्ताहरूलाई बिहीबार साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैँमा हास्यास्पद भएको बताए।  

अध्यक्ष ओलीले सरकारले चुनाव गराउने भनेर घोषणा गरेको मिति अब चार महिना मात्र बाँकी रहेको तर नेताहरूलाई स्थानहद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको बताएका छन‍्। ‘यो सरकार चुनाव गराउने भन्छ। नेताहरूलाई स्थान हद तोकेको छ। जिल्ला जान नपाउने,निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने,’ अध्यक्ष ओलीले सरकारप्रति आक्रोस पोख्दै भने, ‘राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो?’  

अध्यक्ष ओलीले एमालेमाथि जेनजीका नाममा भएको आक्रमण पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास भएको बताए। यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको उनको भनाइ छ। अध्यक्ष ओलीले समाजमा बढ्दै गएको अराजकतालाई रोक्न एमालेले टोलटोलमा टोल सुरक्षा समिति गठन गरिरहेको बताए। यस्ता सुरक्षा समितिले आपराधिक गतिविधिको नियन्त्रण, त्यसमा संलग्नहरूलाई प्रहरीलाई बुझाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिने काम गर्ने बताए।  

अध्यक्ष ओलीले गैह्र संवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधि सभाको पुनर्स्थापनाका लागि एमालेले व्यापक दबाब सृजना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए। उनले प्रतिनिधि सभाको पुनर्स्थापना मार्फत लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याइने बताए।

बैठकमा अध्यक्ष ओलीले कात्तिक २९ गतेको जागरण सभालाई झापामा भव्य रूपमा आयोजना गर्न निर्देशन दिएका छन्। उनले केन्द्रीय स्तरको जनपरिचालन कार्यक्रम सक्रिय पनि जिल्लाले अलग्गै आन्दोलनका कार्यक्रम बनाएर निरन्तरता दिन पनि निर्देशन दिएका छन्।

बैठकमा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गीरीले भदौ २३, २४ को विध्वंश, आगजनी र तोडफोडपछिको अवस्थाका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए।

प्रकाशित: २८ कार्तिक २०८२ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App