१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

नीति र निर्णयले मात्र बन्दैन देश, श्रमदान गर्नुपर्छ: हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नीति र निर्णयले मात्र देश नबन्ने भन्दै अब सम्पूर्ण नेपालीले उत्पादन र श्रममा जोडिनुपर्ने बेला आएको बताएका छन्।

उनले ३ करोड नेपालीका ६ करोड हात एकैसाथ चल्नुपर्ने बताउँदै देश विकासका लागि श्रमदान र औजारको प्रयोग अनिवार्य रहेकोमा जोड दिए।

सोमबार काठमाडौंको कालिकस्थानस्थित सांस्कृतिक संघ भवनमा आयोजित ‘हर्क साम्पाङ अ रिभोलुसन’ को भेला तथा संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब त्यसरी उठ्नुपर्छ, जुरुक-जुरुक उठ्नुपर्छ। ३ करोड नेपालीको ६ करोड हात चल्नुपर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, औजार चलाउनुपर्छ। नीति र निर्णयले मात्रै बन्दैन देश, श्रमदान गर्नुपर्छ।’

मेयर साम्पाङले उत्पादनमा ध्यान नदिई परनिर्भर बनेका कारण देश गरिब भएको तर्क गरे। ‘अब हामी कलम मात्रै भिडाएर, मोबाइल मात्रै चलाएर हामी गरिब भयौँ, उत्पादन हाम्रो छैन,’ उनले भने, ‘उत्पादन नभइसकेपछि अरुको किनेर खानुपर्छ। किनेर खाने मान्छे गरिब हो, बेचेर बस्ने मान्छे धनी हो।’

उनले देशलाई धनी बनाउन उत्पादन बढाएर बेच्नेतर्फ लाग्नुपर्ने र उद्योगधन्दा खोल्नुपर्ने बताए।

उनले हरेक नागरिकलाई श्रममा लाग्न उत्प्रेरित गर्दै भने, ‘सबैले श्रमदान गरौँ, सबैले औजार राखौँ। जिउपिच्छे एउटा-एउटा औजार राखौँ।’ उनले आफ्नो घरअगाडिको खाली जग्गामा फूल वा तरकारी रोपेर भए पनि उत्पादनमा लाग्न आग्रह गरे।

सोमबार बिहान काठमाडौं आइपुगेका साम्पाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकहरूले र्‍यालीसहित स्वागत गरेका थिए।

प्रकाशित: १६ भाद्र २०८२ १६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App