२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

लिङ्देनको चुनौती: मलाई ५०० घुस खुवाएँ भन्ने कोही छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूमाथि कसैले पनि भ्रष्टाचारको औँला उठाउन नसक्ने दाबी गर्दै चुनौती दिएका छन्।

राप्रपाका अगुवा महिलाहरूका लागि आयोजित एक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफ्नो लामो राजनीतिक जीवनमा कसैले ५०० रुपैयाँ घुस दिएको भनेर प्रमाणित गर्न नसक्ने बताए।

‘आजको दिनमा कुनै आमाको दूध खाएको बहादुर छोरा वा छोरी त्यस्तो छैन, जसले राजेन्द्र लिङ्देनलाई मैले ५०० रुपैयाँ घुस खुवाएको छु भनेर भन्न सक्ने कोही मान्छे छैन,’ उनले भने।

आफू निम्नवर्गीय र सुकुम्बासी परिवारबाट आएको व्यक्ति भएको बताउँदै लिङ्देनले आफ्नो पृष्ठभूमि र साधारण जीवनशैलीका कारण कतिपयले हेप्ने गरेको समेत उल्लेख गरे। ‘म पहाडबाट कोदो खान नपुगेर मधेस झरेको, झापाको सुकुम्बासीको छोरा हुँ,’ उनले भने, ‘यस्तो मान्छेलाई अध्यक्ष मान्नुपरेको भनेर पीर गर्ने मान्छे पनि छन्।’

तर, आफ्नो अवस्थामा कहिल्यै हिनताबोध नगरेको बताउँदै उनले इमानदारीको जीवन बिताएकोमा गर्व रहेको सुनाए। ‘मैले खाने गाँसमा, मैले लगाउने कपडामा बेइमानीको अंश छैन,’ लिङ्देनले भने, ‘मैले कसैलाई ठगेर हिँडिनँ।’

उनले आफ्नो राजनीतिक यात्राका कठिन दिनहरू सम्झँदै जिल्ला विकास समितिको सभापति भइसकेपछि पनि गुजारा चलाउन माइक्रोबस चलाएको, रेस्टुरेन्ट चलाएको र घरमा रङ लगाउने कामसमेत गरेको बताए। ‘मसँग पैसाको कमी थियो, मैले माइक्रोबस चलाएर हिँडेँ,’ उनले भने, ‘तर मैले कसैलाई ठगिनँ।’

आफूले इमानदारीपूर्वक कमाएरै परिवार चलाएको र छोराछोरी पढाएको भन्दै उनले आफ्नो जीवन नै भ्रष्टाचारविरुद्धको सन्देश भएको बताए।

प्रकाशित: १ भाद्र २०८२ १९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App