१६ चैत्र २०८० शुक्रबार
राजनीति

तनहुँमा त्रिपक्षीय भिडन्त

तनहुँ १ मा सत्ता र शक्ति नजिक रहेर विगतमा केन्द्रिय राजनीति गर्ने एउटै पार्टीका व्यक्तिहरु अहिले फरक फरक बाटोमा छन्। दुवै अहिले सत्ता र शक्तिबाट टाढा छन्। हिजोका सहकर्मी उनीहरु प्रतिस्पर्धी छन्।

तनहुँमा कांग्रेसका रामचन्द्र पौडेल, स्वतन्त्रबाट गोविन्दराज जोशी र नेकपा एमालेका एक बहादुर राना बीचको त्रिपपक्षीय भिडन्त अन्य क्षेत्रको भन्दा रोचक देखिएको छ। यी तिनै व्यक्ति संसदीय निर्वाचनमा नयाँ अनुहार भने होइनन्।

संसदीय निर्वाचनमा तनहुँबाट जितेर पटक पटक मन्त्री र सभामुखसमेत भइसकेका रामचन्द्र पौडेल एक पटक प्रधानमन्त्री भएर सुशासन दिने भन्दै तनहुँका मतदातामाझ घरदैलोमा छन्। एक पटक प्रधानमन्त्री भएर नेतृत्वमा सुशासन र नैतिकता देखाएर जनताको सेवा गरि छाड्ने प्रतिवद्धता सहित रामचन्द्रले मतदातासँग अन्तिम पटक मत मागिररहेका दृश्य देख्न टोल टोलमा देख्न सकिन्छ। उनी यो क्षेत्रमा सातौ पटक निर्वाचनको प्रतिस्पर्धामा मैदानमा छन्। पाँच पटक त जित हासिल गरिसकेका पौडेलको दौधदुत अहिले अरु बढी देखिएको छ।

‘जनताले मलाई कार्यकारी पदमा रहेर काम गर्न ढोका खुल्ला गर्नेछन्,’ पौडेलले भने। अघिल्लो चुनावमा एमाले र माओवादीको गठबन्धनले जित्न कठिन भएको पौडेल बताउँछन्। तर, अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धनले सहज बन्ने उनले बताए। यो क्षेत्रमा माओवादीको समेत राम्रो जनमत छ। करीब ९ हजार मत माओवादी केन्द्रकै रहेको छ। तर कांग्रेसको भोट काट्ने दाउमा जोशी छन्।

‘२० बर्षदेखि पार्टी नेतृत्वमा नभएपनि मसँग जनता छन्। जनताको माया र विगतमा यो क्षेत्रमा गरेको योगदानले पनि मैलाई जिताउने छन्,’ जोशीले नागरिकसँग भने। एमाले छाडेर एकीकृत समाजवादीमा लागेका श्रेष्ठ अन्तिम पटक चुनाव जित्ने इच्छा गरेका पौडेललाई ठाउँ खाली गराउँदै बारा–४ बाट निर्वाचन लड्दै छन्। काँग्रेसका महासमिति सदस्य पूर्णबहादुर गुरुङले हालै काँग्रेस परित्याग गर्दै एमालेमा प्रवेश गरेर तनहुँ क्षेत्र १ को प्रदेशसभा (ख) को उम्मेदवार बनेका छन्। उनले काँंग्रेस विशेष गरी आदिवासी जनजाति समुदायको भोट काट्ने सम्भावना बलियो छ।

एक बहादुर राना ०५१ सालदेखि निर्वाचन लड्दै आएका एमालेका नेता यो क्षेत्रमा पौड्याल र जोशीका प्रतिस्पर्धी छन्। उनलाई जोशीले दुई पटक पराजित गरे। ०५१ साल र ०५६ सालमा जोशीले उनलाई हराए। ०६४ मा भने रानालाई माओवादीका सुरेश आले मगरले हराए। चौथो पटक चाहिँ आफूलाई तनहुँका जनताले न्याय गर्ने आशमा उनी छन्। ‘यहाँका जनताले धेरै पटक एउटै व्यक्तिलाई जिताएको र आफू निरन्तर यो क्षेत्रमा लड्दै आएकाले यस पटक भने मलाई माया गर्ने छन्। न्याय दिने छन्,’उनले भने। युवालाई जिल्लामै रोजगारी, व्यवसायिक कृषि, आयआर्जन, व्यवस्थित शहर,नमूना गाउँ निर्माण युवाका लागि सीपमुलक तालिम, मातृभाषा संरक्षण हरेक पालिकामा सितभण्डारको स्थापना जस्ता विषय उनले चुनावी एजेण्डा बनाएका छन्। तनहुँमा २ लाख ४८ हजार ४ सय ९५ मतदाता छन्।

त्यस्तै, तनहुँ २ मा भने मुख्य दल कांग्रेस र एमालेबीच प्रतिस्पर्धा रहेपनि ९ जना उम्मेदवार मैदानमा भिडिरहेका छन्। नेपाली कांग्रेसका शंकर भण्डारी र एमालेका किरण गुरुङबीच प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेस विपीका उम्मेदवार रहेका पष्पराज पराजुलीले भण्डारीलाई समर्थन गर्ने भन्दै दुई अगाडि चुनावी प्रसारप्रसार बन्द गरेका छन्। उनी पनि यो क्षेत्रमा पुराना नेतामा गनिन्छन्।

दुवै क्षेत्रमा कांग्रेस र एमाले पार्टीभित्र देखिएका अन्तरविरोधले निर्वाचन परिणामलाई सिधा असर पार्ने देखिएको छ।

प्रकाशित: १ मंसिर २०७९ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App