१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता यो गठबन्धन हो: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता अहिलेको गठबन्धन भएको बताएका छन्।

सुनसरी क्षेत्र नं १ को बुधबार धरानमा आयोजित वृहत चुनावी आमसभालाई सम्बोधन गदै दाहालले यस्तो बताएका हुन्। उनले ७ राजनीतिक दलको तर्फबाट तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट आफूले हस्ताक्षर गरेको स्मरण गर्दै त्यसपछि नै नेपालमा शान्तिको नयाँ युग शुरुवात भएको पनि बताए। ‘त्यसपछि नै नेपालमा शान्तिको नयाँ युग शुरुवात भयो, संघीय लोकतान्त्रिक गणतन्त्रको लागि संविधानसभाको निर्वाचन भयो, र देशले अग्रगति लिदै आएको छ,’उनले भने,‘त्यसकारण यो अहिलेको गठबन्धन भनेको त्यसैको निरन्तरता हो।’

दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र हुदै अगाडि बढाउने पार्टी र नेतृत्वहरुको लोकतान्त्रिक वाम गठबन्धन भएको पनि बताए। ‘अर्को गठबन्धन हेर्नुभयो भने कता कता राजावादीहरुको, सामन्ती निरंकुशतातिर फेरि फर्कन चाहने, देशलाई पछाडि धकेल्न चाहनेहरुको गठबन्धन पनि छ,’उनले भने,‘त्यसकारण यो निर्वाचन जनमत संग्रह जस्तै छ। अगाडि जाने विचार, प्रवृत्ति र धाराको गठबन्धनले जित्ने कि पछाडि फर्कने विचार, प्रवृत्ति र धाराको गठबन्धनले जित्ने?’

दाहालले अगाडि जाने प्रवृत्ति र विचारलाई समर्थन गरेर फेरि देशमा प्रतिगमन हुन नदिन, राजनीतिक अस्थिरताले टाउको उठाउन नदिन र स्थिरता, विकासको नयाँ युगतिर जाने वातावरण तयार गर्ने अवसर निर्वाचनको रुपमा आएको पनि बताए। ‘यो अवसर हामी कसैले पनि खेर फाल्ने छैनौं, यो गठबन्धनलाई जति धेरै विजय गराउन सक्यौ, त्यति राजनीतिक स्थायीत्व आउनेछ, त्यति नै शान्ति प्रक्रिया निष्कर्षमा पुग्नेछ, त्यति नै विकास र समृद्धिले पनि नयाँ गति लिनेछ,’उनले भने।  

नेपालमा जनताको त्याग, तपस्या र वलिदानले राजनीतिक परिवर्तन धेरै भए पनि त्यही अनुकुल विकास निर्माण र समृद्धिको यात्रा अगाडि नबढ्दा राजनीतिक परिवर्तन पनि दिगो नभएको दाहालले बताए। यसले जनतामा के होला कसो होला भन्ने भइरहेको भन्दै उनले गठबन्धनले समृद्धि, विकास निर्माणलाई राजनीतिक परिवर्तन अनुकल गति दिनेमा जोड दिएको पनि बताए। ‘यो गठबन्धन निर्वाचनको लागि मात्र बनेको होइन। संविधान लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि बनेको हो। विकासको लागि बनेको हो,’दाहालले भने,‘आउने ५ वर्ष त गठबन्धन जान्छै, जान्छ। देशैभर गठबन्धनको लहर छ, जित सुनश्चित छ। ५ वर्ष सरकार जाने सुनिश्चित छ, तर हामी नेताहरुले १०, १५ वर्षसम्म गबठन्धन लानुपर्छ। यसैमार्फत विकास र समृद्धिको नायँ यात्रा थालनी गर्नुपर्छ भनेका छौं।’

उम्मेद्वार जिताए मन्त्री बनाउने आश्वासन

दाहालले सुनसरी क्षेत्र नं १ का गठबन्धनबाट माओवादीका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन्। उम्मेद्वार मुक्सामहाङ युवा भएको र केही गरौं भन्ने हुटहुटी भएकोले जिताउन पनि आग्रह गरे। उनलाई जिताएर पठाए शुरुमा नै मन्त्री बनाएर धरानको विकासमा सहयोग गर्ने दाहालले आश्वासन दिए। उनले प्रदेशसभा १ (१) का उम्मेद्वार कांग्रेसका उमेश थापा र प्रदेशसभा १ (२) मा उम्मेद्वार रहेका रेवतीरमण राईलाई पनि जिताएर पठाउन आग्रह गरे।

खानेपानीको लागि बजेट र योजना दिने  

दाहालले धरानका मेयर हर्क साम्पाङ खानेपानीको समस्या समाधान गर्छु भनेर मेयर बनेको र अहिले धेरै मेहनत पनि गरिरहेकोले सम्मान गर्नुपर्ने बताए। अब मेयर साम्पाङको चाहनालाई केन्द्रबाट बजेट र योजना पारेर गठबन्धनको सरकारले मद्दत गर्ने पनि उनले बताए। ‘पानी खुवाउछु भनेर हर्क जी मेयर बन्नु भएको छ उहाँलाई धन्यावाद छ। मेहनत गर्दै हुनुहुन्छ, धेरै दुःख गर्नुभएको छ। उहाँको दुःखलाई सम्मान गर्नुपर्ने हुन्छ। अब हर्क जीको चाहनालाई केन्द्रबाट पनि हामीले बजेट पारेर, योजना पारेर मद्दत गर्नेछौं,’उनले भने।

भुपु गोर्खा सैनिकहरुले ब्रिटिश सरकारसँग समान कामको निम्ति समान राहत, तलब सुविधाको माग गरिरहेको र अहिले वार्ता भइरहेको खुलाउदै यसविषयमा प्रधानमन्त्री देउवासँग पनि आफुले गहिरोसँग कुरा गरेको बताए। ब्रिटिश सरकारसँग चाडै वार्ता गरेर समस्या समाधान गर्ने पनि उनले बताए। यसैगरि, धरानलाई आर्थिक गतिविधिको केन्द्र बनाउन किमाथांका–धरान जोड्ने बाटोलाई पुर्णता दिने, धरानको रंगशाला निर्माणलाई पुर्णता दिन बजेट दिने, वीपी प्रतिष्ठानको व्यवस्थापनलाई सुधार गर्न सरकारले ध्यान दिने पनि दाहालले बताए।  

प्रकाशित: ३० कार्तिक २०७९ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App