१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

डोल्पा र सल्यान: गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ। दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन्।

निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा (एमाले)बीच नै प्रतिस्पर्धा देखिन्छ। सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव प्रकाश ज्वाला हुनुहुन्छ भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ।  

स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा सल्यानमा नेपाली कांग्रेस ३३ हजार छ सय १६,  मओवादी २६ हजार सात सय १३,  एमालेको २६ हजार छ सय २८ र नेकपा ९एकीकृत समाजवादी०को नौ हजार चार सय ६७ मत छ।  एक लाख ५७ हजार सात सय एक मतदाता सङ्ख्या रहेको यस जिल्लामा गठबन्धनका साझा उम्मेदवार ज्वाला जित्नेमा ढुक्क छन्।।

विसंं २०५१, २०५६, २०७० र २०७४ सम्म चुनाव जितेर सल्यानमा राम्रै छवि कायम गरेका उनले यसपटक पनि आफूले चुनाव जितिसकेको र औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जिकिर गरे। उनले भने, ‘सल्यानको विकास र समृद्धिका लागि मैलै गरेको कामलाई यहाँका मतदाताले राम्रोसँग पहिचान गर्न सक्नु नै मेरो जित हो।’

एमालेका उम्मेदवार रायले आफ्नो व्यक्तित्व, भ्रष्टाचार नगर्ने सङ्कल्प र परिवर्तित जनताको मत नै यसपटकको चुनाव जित्ने मुख्य आधार भएको दाबी गरे।

डोल्पामा पनि गठबन्धनमा साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय सदस्य धनबहादुर बुढा आफ्नो जित हुनेमा ढुक्क छन्। विसं २०७० संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा सदस्य जितेका उनले तेस्रोपटक पनि आफ्नो जित सुनिश्चित रहेको जनाए।

डोल्पा जिल्लाको स्थानीय तहको मतपरिणाम नेकपा ९माओवादी केन्द्रको चार हजार आठ सय ५५,  एमालेको चार हजार पाँच सय ४५, कांग्रेसको तीन हजार ६९ र नेकपा ९एकीकृत समाजवादी०को एक हजार तीन सय ३४ छ। डोल्पामा २२ हजार चार सय ४० मतदाता सङ्ख्या छ।

उनका प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीले पछिल्लो समयमा एमालेप्रति जनताको आशा बढ्दै गएकाले जित आफ्नो पोल्टामा पर्ने जनाए। ‘गठबन्धनलाई नै चिरेर मैले चुनाव जित्छु’, उनले भने, ‘मतदाताले मेरो काम हेर्न चाहिरहेका छन्।’    

प्रतिनिधिसभा सदस्यका लागि डोल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अङ्गतकुमार बुढा, नेकपा माक्र्सवादी ९पुष्पलाल०बाट हर्कबहादुर ठकुल्ला र स्वतन्त्रबाट वीरबहादुर रोकाय पनि चुनावी मैदानमा छन्।

प्रदेशसभा सदस्यका उम्मेदवारको आ–आफ्नै दाबी  

सल्यान प्रदेश ९१० मा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९माओवादी केन्द्र०बाट भीमप्रकाश शर्मा र  एमालेका कुलबहादुर गिरी नै प्रतिस्पर्धी देखिएका छन्। उनले एक्लै जित्न सक्ने अवस्था हुँदै गर्दा गठबन्धन जोडिएपछि आफ्नो जित सुनिश्चित भएको बताए। यद्यपि गिरीले गठबन्धनको हाउगुजी भ्रममात्र भएकाले जित आफ्नो हात पर्ने तर्क गरे।  

प्रदेश ९२० क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सुरेश अधिकारी र एमालेका उम्मेदवार गुलाबजङ्ग शाहले टक्कर दिइराखेका छन्। उनी विसं २०७४ को प्रदेशसभा सदस्यमा विजयी भएका थिए। यद्यपि कांग्रेसका निर्मल सिंहले बागी उम्मेदवारी दिएकाले जिन सुनिश्चत गर्न गठबन्धनका उम्मेदवारलाई चुनौती बढेको छ। त्यसको फाइदा लिएर आफू जित्ने दाउमा भने एमाले छ।

सल्यान (१) क्षेत्रमा बागचौर, दार्मा, कुमाख सिद्ध कुमाख गाउँपालिका, शारदा नगरपालिकाको १४ र १५ र बनगाड–कुभिण्डे नगरापलिकाका १–७ वडा पर्दछन्। त्यस्तै (२) क्षेत्रमा कालीमाटी, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका १–१३ र वनगाड–कुपिण्डे नगरपालिकाका ९–१२ वडा पर्दछन्।  

 डोल्पा क्षेत्र (१)मा गठबन्धन दलका साझा उम्मेदवार कांग्रेसका दीपेन्द्रबहादुर शाही र  एमाले शेरबहादुर बुढा चुनावी प्रतिस्पर्धामा छन्। एक्लाएक्लै लड्दा जित्न सक्ने क्षमता बनाएको कांग्रेसलाई गठबन्धनले जित सहज बनाएको उनले बताए।  

एमालेका बुढाले भने जस्तोसुकै गठबन्धन भए पनि आफ्नो जित सुनिश्चित हुने जिकिर गरे। त्यस्तै क्षेत्र नं (२) मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बीरबहादुर शाही र एमालेका धनचन्द्र बैजी चुनावी प्रतिस्पर्धा छन्। राप्रपाका बौद्धसिंह कठायतलाई प्रतिस्पर्धी मानिए पनि शाहीले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। एमालेका बैजीले जनताले आफूलाई अगाडि सार्ने मत व्यक्त गरे।  

डोल्पा प्रदेश क्षेत्र (१) मा काइके, छार्काताङ्सोङ र डोल्पोबुद्ध गाउँपालिका तथा ठूलीभेरी नगरपालिका रहेका छन् भने प्रदेश क्षेत्र (२)मा त्रिपुरासुन्दरी नगरपालिका, शे–फोक्सुण्डो, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका रहेका छन्।  

निर्वाचन क्षेत्र १ भएको सल्यानमा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन दल, नेकपा (एमाले), राप्रपा, नेकपा (माले) र दुई स्वतन्त्र गरी छ र डोल्पामा एक स्वतन्त्रसहित पाँच उम्मेदवार चुनावी मैदानमा उत्रेका छन्। सल्यानबाट (१) र (२) प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन स्वतन्त्रसहित ११ र डोल्पा (१)र (२) प्रदेशसभा सदस्यका सात उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

सल्यान र डोल्पाका दुवै जिल्लामा गठबन्धन दल,  एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माले)लगायतका पार्टीले यो चुनावमा भाग लिएका छन्।रासस

प्रकाशित: २७ कार्तिक २०७९ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App