१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले प्रदेश १ को प्रतिबद्धतापत्र: विराटनगरलाई हवाई सेवाबाट हङकङ र थाईल्याण्डसँग जोड्ने

प्रदेश १ को प्रतिबद्धतापत्र सार्वजनिक गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बराल , प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने लगायतका नेताहरू। तस्बिरः विनोद/नागरिक

आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गरी नेकपा एमाले प्रदेश १ ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। शनिबार विराटनगरमा प्रदेशको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।

 नेकपा एमालेका  स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने लगायतको उपस्थितिमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।  

प्रतिबद्धतापत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने , प्रदेशको नामाकरण गरि आधुनिक सुबिधा सम्पन्न  प्रदेश राजधानी बनाउने,विराटनगरलाई आर्थिक राजधानीका रुपमा रूपान्तर गर्ने, शासन प्रणालीमा सुधार गर्ने उल्लेख छ। प्रतिबद्धता पत्रमा प्रदेश १ लाई मुलुकमा प्रवेश गर्ने द्वारका रुपमा विकास गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने, एसियन हाइवेमार्फत भारत, बंगलादेश, भुटान, चीन, बर्मासँग जोड्ने, हवाई सेवाबाट हङकङ र थाईल्याण्डसँग जोड्ने, किमाथाङ्का–जोगबनी सडक खुलेपछि सामान र मानव आवागमनको क्षेत्र बन्ने सम्भावनाको अधिकतम उपयोग गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ।  

गरिबीलाई सम्बोधन गर्न विपन्न वर्ग परिचयपत्र वितरण गर्ने, एमालेको सरकारले शुरू गरेका प्रदेश गौरवको आयोजना पूरा गर्ने लगायतका विषयहरु प्रतिबद्धतापत्रमा समेटिएको छ। प्रदेश १ मा धार्मीक साँस्कृतिक सर्किटको एकिकृत विकास गर्ने, नदी डाइभर्सनबाट स्वच्छ खानेपानी उपलब्ध गराउने, विद्युत उत्पादनकासाथै पर्यटनको पनि प्रवद्र्धन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ।  

युवालाई रोजगारी उपलब्ध गराउन मानव संसाधन विकास बैंक स्थापना गर्ने, छोरीको शिक्षाका लागि छोरी शिक्षा विमा गर्ने, नदीहरूमा ग्रीन इनिजीनियरिङ प्रविधिबाट तटबन्ध निर्माण गर्ने, आदिवासी जनजाती सांस्कृतिक केन्द्र स्थापना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ।  

प्रकाशित: १९ कार्तिक २०७९ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App