१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

गणतन्त्र र संविधान रक्षाका लागि गठबन्धन: प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा र गणतन्त्र सुनिश्चिताका लागि बाम–लोकतान्त्रिक गठबन्धन जरुरी भएको बताएका छन्। धनगढीमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रममा देउवाले सो कुरा बताएका हुन्।  

‘देश अहिले गम्भीर मोडमा उभिएको छ,’ उनले भने,‘देश चुनावपछि कता जाने? भन्ने मोडमा रहेकोले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी छ।’ संविधान रक्षार्थ नै मुलतः गठबन्धन जरुरी रहेको बताउँदै उनले भने,‘गठबन्धनको सरकारले नै हो संविधानको रक्षा गर्ने, तसर्थ मंसिर ४ को आम निर्वाचनमा सुदूरपश्चिमबाटै जीतको सफलता मिल्ने छ।’ उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरे।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको मुख्य मुद्दा भनेको नै संविधानको रक्षा भएको बताएका छन्। नेपालमा भएका हरेक राजनीतिक परिवर्तन लोकतान्त्रिक र कम्यूनिष्टहरुको सहकार्यबाट सम्भव भएको इतिहास रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘त्यसैले प्रतिगामीहरुलाई परास्त गर्नका लागि गठबन्धन गरिएको हो।’ केपी ओलीले नेतृत्व गरेको एमाले खास एमाले नभएको आरोप उनले लगाए। संविधान, लोकतन्त्र र संघीयताको रक्षाका लागि एक ठाउँमा उभिएको बताउँदै उनले भने,‘रछ्यानमा मिल्काएको राजतन्त्र फर्काउनका लागि एकथरीले गठबन्धन गरेका छन्।’

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमार्फत् प्रतिगामीहरूलाई परास्त गर्नुपर्ने बताएका छन्। गणतन्त्रको रक्षा गर्न कांग्रेस र कम्युनिष्ट मिलेको उनले बताए।  ‘म कांग्रेस हुँ, म माओवादी हुँ, म समाजवादी हुँ भनेर हुँदैन। हामी सबैले एक भएर अगाडि बढ्नुपर्छ,’ उनले भने,‘ प्रतिगामीहरूलाई हराउँदै हामीले जित्नुछ।’ नेपालले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने बताए। गठबन्धन देशको विकासमा लागि बनेकाले गठबन्धनले जित्नुपर्ने उनले बताए।

प्रकाशित: ६ कार्तिक २०७९ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App