३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रमुख निर्वाचन आयुक्त भन्छन्ः सामाजिक सञ्जाल चलाउँदा ख्याल गरौं

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गर्न र गराउन निर्देशन दिएका छन्।

शनिबार पोखरामा भएको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै थपलियाले आचारसंहिता उल्लंघन हुने गतिविधि गर्न नदिन सचेत हुन निर्देशन दिए। ‘निर्वाचन आचारसंहिताको उल्लंघन गरेको देखिए आयोगमा लिखित वा मौखिक जानकारी दिनुहोला’ प्रमुख आयूक्त थपलियाले भने, ‘आचारसंहिता उल्लंघन गर्ने छुट कसैलाई छैन।’

आयोगले यसपटकदेखि अनुगमन अधिकृतको जिम्मेवारी हरेक जिल्लाका प्रमुख कोष नियन्त्रकलाई दिएको प्रष्ट पार्दै अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्न निर्देशन दिए।  

उम्मेदवारबाट चित्त बुझ्दो जवाफ पेश नभएमा उम्मेदवार रद्द गर्ने समेतको अधिकार निर्वाचन आयोगलाई भएकोले त्यस सम्बन्धी विवरण स्पष्ट खुलाइ आयोगमा लेखी पठाउन उनको निर्देशन थियो। निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ निर्माण गरेको छ।

जसको दफा ४६ मा ‘कसैले आचारसंहित उल्लंघन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम एकलाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ’ उल्लेख गरिएको छ। उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा बुझाएको विवरणमा उल्लेख भए बमोजिमको श्रोतबाट खर्च गरेको नगरेको बारे आयोगले निगरानी गर्ने पनि उनले बताए।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई समेत कारबाही गर्न सुरु भइसकेको जानकारी गराउँदै कर्मचारीले निर्वाचन सम्पन्न नहुँदासम्म सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाउन आग्रह गरे।

‘सामाजिक सञ्जाल चलाउँदा पनि होसियारी अपनाउनुस्। कतै आचारसंहिता उल्लंघन हुन्छ की भनेर सचेत हुनुपर्छ,’ उनले भने, ‘सामाजिक सञ्जालबाट झुटो र गलत विवरण आउने हुनाले ख्याल गर्नुपर्छ।’

प्रकाशित: २९ आश्विन २०७९ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App