१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धनमा मनमुटाव, के हुँदै छ मधेसमा ?

लहान-संविधान निर्माण प्रक्रिया र प्रादेशिक सीमांकनप्रती असन्तुष्टि जनाउँदै साउन ३१ गतेबाट मधेस आन्दोलनको अगुवाई गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिले सिथिल छ। मोर्चाको बैठक चैत १८ गतेदेखि बस्न सकेको छैन्। मोर्चा छ तर सक्रिय हुन सकेको छैन्। मोर्चालाई यथावत राखेर मोर्चामा सम्वद्ध चार दल र अन्य २३ दल संगठन मिसाएर संघीय गठबन्धन खडा गरिएको छ।यो गठबन्धनले वैशाख ५ गते २६ बुंदे अवधारणपत्र सार्वजनिक गर्यो। संगै आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरे। जसमा सिंहदरवार घेराउ सम्मको कार्यक्रम तय गरिएको थियो।

वैशाख १७ गते ७५ वटै जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो। तर २२ जिल्लाबाहेक अन्य जिल्लाबाट ज्ञापन पत्र बुझाउने काम नभएको गठबन्धन सम्बद्ध स्रोतले बतायो । घरदैलो र पर्चा पम्पलेट वितरण लगायतका कार्यक्रम पनि फितलो भयो।

जिल्ला सम्मेलन र कोणसभा कार्यक्रम पनि धेरै जसो जिल्लामा सम्पन्न हुन सकेन । गठबन्धनको घोषित कार्यक्रमलाई हालसम्म हेर्दा कार्यान्वयन पक्ष फितलो देखिएको गठबन्धन सम्बद्ध स्रोत बाताउँछन्।

मोर्चाले घोषणा गर्ने हरेक कार्यक्रम मधेसका जिल्लामा भव्यताका साथ सम्पन्न हुने तर गठबन्धनबाट घोषित कार्यक्रम फितलो हुनुमा नेताहरुबीचको मनमुटाव प्रमुख कारण रहेको स्रोतको भनाई छ। स्रोत भन्छन् 'जसको व्यानरमा मधेस आन्दोलन करिब छ महिनासम्म अथक रुपमा चलिरह्यो उसैलाई माईनस गरेर अगाडि बढ्दा यो अवस्था सृजना भएको हो।' अहिलेपनि मधेसमा मोर्चाप्रती सद्भाव, समर्थन र विश्वास छ, मोर्चा स्रोत भन्छ,'मोर्चालाई विस्तार गर्नुको साटो केहि नेताले कुल्चेर हिड्दा मधेसमा कनफ्युजन खडा भयो।'

मोर्चाका घटक सदभावना पार्टीका महासचिव मनिष सुमनका अनुसार चैत १८ गत्तेबाट अहिलेसम्म मोर्चाको बैठक नै बसेको छैन्। गठबन्धनको बैठकमा २७ दल संगठन छ तर बैठकमा मुख्य दलको प्रतिनिधित्व न्युन हुन्छ, उनले भने।

असोज ३१ गतेबाट माघसम्म चलेको छ महिने मधेस आन्दोलनको क्रममा ५७ जनाले ज्यान गुमाए। मृतक परिवारले अहिले सम्म पनि सरकारी राहत नपाएको मोर्चाको दावी छ। आन्दोलनको क्रममा पाँचसय भन्दा बढी घाईते र अंगभंग भएका थिए। सरकारी उपचार खर्च समेत घाईते परिवारसम्म नपुगेको मोर्चाले जनाएको छ। उनीहरुको उपचार मोर्चा, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु आवद्ध भएको संस्था कोशिष मार्फत गरिएको छ। विभिन्न दाताहरु विदेशमा रोजगार गरिरहेका मधेसीहरुले पठाईदिएको रकमबाट घाईतेहरुको उपचार भईरहेको छ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी र तराई मधेस सदभावना पार्टी थिए। पछि राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी राष्ट्रिय मधेस समाजवादी पार्टी पनि सहभागी गराईयो।

संघीय गठबन्धनमा मोर्चाका ७ बटै दल सहित अन्य २० दल र संगठन छन्। जसमा भानु थारु अध्यक्ष रहेको थरुहट तराई पार्टी, कुमार लिंगदेन अध्यक्ष रहेको संघिय लिम्वुवान पार्टी, मल्ल के सुन्दर, नरेश ताम्राकार संयोजक रहेको नेवा स्वायत राज्य संघर्ष समिति, पद्मरत्न दुलाधर संयोजक रहेको आदिवासि जनजाती राष्ट्रिय आन्दोलन समिति लगायतका छन्।

सुमन भन्छन्,'मोर्चालाई मृत्युसैयामा पुर्याउनुभन्दा व्युँताएर सक्रिय बनाउनु हितकर हुन्छ ।' मधेसको विश्वास मोर्चाप्रती अझै पनि छ उनले भने,'मधेसी मोर्चा नरहे मधेसमा आन्दोलनको उभार मुस्किल छ।'

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव भन्छन्,' आन्दोलनलाई प्राविधिक रुपमा अगाडि बढाउनु भन्दा मेसिनको रुपमा अघि बढाउन जरुरी छ।' दलगत घेराबाट माथि उठेर, दलगत नाफा नोक्सानबाट माथि उठेर आन्दोलनलाई बिराट रुप दिन नेतृत्व पंत्ति अगाडि बढ्नुपर्ने उनको धाराणा छ।

मधेसको समस्या राष्ट्रिय समस्या हो, यो समस्या सामाधान भए राष्ट्रिय स्थिरता, आर्थिक विकास द्रुत गतीमा अगाडि बढ्ने उनको भनाई छ।

मौन मधेसमा के हुँदै छ?

करिब छ महिना लामो आन्दोलन झेलेको मधेस अहिले मौन छ। एजेन्डा सम्बोधन नभई विश्राम लिएको आन्दोलनपछि के हुँदै छ मधेसमा ? मधेसमा फेरी आन्दोलन उठ्ला ? आन्दोलन उठेपनि पहिलाजस्तो बजन जुटाउन सक्ला ? यी प्रश्नहरुले बजार तताएको छ।

यी प्रश्नहरुको उत्तरमा मधेस मामिलाका विश्लेषकहरुको विश्लेषण छ एजेन्डा जिबित रहेसम्म जुनसुकै बेला पनि मधेसमा आन्दोलन उठ्न सक्छ । आन्दोलन नापीतौली हुन्न विश्लेषकहरु भन्छन् । प्रत्येक आन्दोलनको प्रकृती फरक फरक हुन सक्छ ।

मधेस मामिलाका विश्लेषक तुलानारायण साह भन्छन्,'मधेसमा एजेन्डा जिबित भएकोले आन्दोलन उठ्छ।' मधेसमा अहिले पनि असन्तोष र आक्रोश जिवित छ, जसले आन्दोलनको सम्भावनालाई जिवित राखेको उनको तर्क छ।

मधेस मामिलाका अर्का विश्लेषक विजय प्रसाद मिश्र भन्छन्,'मधेसको आक्रोशलाई दिशा दिने हावा चले जतिबेला पनि जोर पकडिन सक्छ।' समस्या सामाधानमा जति ढिलाई भयो उती अक्रोश बढ्दै जान्छ उनले भने,'कुनै अवस्था आउँछ जसले त्यो आक्रोशले हावा पाईहाल्छ।'

प्रकाशित: २४ वैशाख २०७३ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App