२० श्रावण २०८३ बुधबार
image/svg+xml
धर्म/संस्कृति

सांस्कृतिक विविधताले नै सधैँ एकताबद्ध रहन ऊर्जा प्रदान गरेको छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले २५७० औ बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

'आजको यस पवित्र दिनले हामी सबैलाई गौतम बुद्धका कालजयी उपदेशहरूको स्मरण गराउँदै सत्य, न्याय र मानवताको मार्गमा अविचलित भई लाग्न थप प्रेरणा दिने विश्वास लिएको छु,' उनले शुभकामना सन्देशमा भनेका छन्।

नेपाल आफैँमा एक अनुपम विविधतायुक्त मुलुक भएकाले यहाँका विभिन्न जातजाति, भाषाभाषी र संस्कृति नै गौरव भएको उनले बताए। वर्तमान समयमा सबैले भोगिरहेका विभिन्न सामाजिक र आर्थिक चुनौतीहरूका माझ जातीय र सांस्कृतिक विविधताले नै सधैँ एकताबद्ध रहन ऊर्जा प्रदान गरेको जिकिर गरे।

'विविधता भित्रको गहिरो एकता र आपसी सद्भाव नै हाम्रो राष्ट्रिय शक्ति हो। हाम्रा बहुधार्मिक र बहुसांस्कृतिक मूल्य मान्यताहरूले नै समाजमा सहिष्णुता र भ्रातृत्वको भावनालाई प्रगाढ बनाउँदै अघि बढ्न अभिप्रेरित गरिरहेका छन्,' सभामुख अर्यालले भने।

विश्व शान्तिका प्रतीक भगवान् बुद्धका शिक्षा, दर्शन र विचारहरू संसारभरिका मानिसका लागि मार्गदर्शनको स्रोत भएको बताउँदै उनले भने, 'बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको यो त्रिसंयोगको दिनले विश्वलाई नै अहिंसा र प्रेमको सन्देश प्रवाह गरिरहेको छ। आजको बदलिँदो परिवेशमा बुद्धका वाणीहरूले मानिसलाई निराशा र अन्योल त्यागेर धैर्य, संयम र रचनात्मक मार्गमा हिँड्न सिकाउँछ।'

मानव जीवनमा आइपर्ने विभिन्न संकट र दुःखहरूबाट मुक्ति पाउन तथा समाजमा दिगो शान्ति र विकास कायम गर्न बुद्धको करुणा र मैत्रीभाव आजको सन्दर्भमा अझ बढी महत्वपूर्ण बनेको उनले बताए। उनले भने, 'बुद्धले देखाउनुभएको अष्टाङ्गिक मार्ग र पञ्चशीलको अनुसरणले नै हामीमा सकारात्मक ऊर्जा सञ्चार गर्ने र समाजमा शान्ति, सुव्यवस्था एवं पारस्परिक सम्मान कायम गर्न सहयोग पुग्ने मेरो अटल विश्वास छ।'

यस्तै, उनले बुद्ध जयन्तीको यस गौरवमय अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, दीर्घायु एवं राष्ट्रिय स्वाभिमान र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरे।

प्रकाशित: १८ वैशाख २०८३ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App