१६ चैत्र २०८० शुक्रबार
राजनीति

फेरि सँगैसँगै दाहाल–भट्टराई: ‘अर्को जनयुद्ध आवश्यक छ’

लामो रस्साकस्सीपछि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो। साता नबित्दै बाबुराम भट्टराई असोज ९ मा माओवादी केन्द्रलाई ‘भत्किएको रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए। त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भट्टराई एउटै मञ्चमा बिरलै देखिए। १० वर्षे सशस्त्र संघर्ष, त्यसअघिको वाम स्कुलिङ र राजनीतिमा सहयात्रा गरेका यी दुईजनाको राजनीतिक दिशा र अजेन्डाले तालमेल खाएन। भट्टराई माओवादीबाट बाहिरिए। भट्टराई अहिले नेपाल समाजवादी पार्टीको अध्यक्ष छन्। तर पछिल्ला केही दिनयता उनीहरूबीचको सम्बन्ध बाक्लिएको छ। कटुता मधुरतामा परिणत भएको छ। भट्टराई माओवादी केन्द्रको निर्वाचन चिह्नमा चुनाव लड्ने निर्णयमा पुगेका छन्।

सम्बन्धमा सुधार भएसँगै अहिल दुवैजना एउटै मञ्चमा देखिन थालेका छन्। जहाँ उनीहरू एकअर्काका लागि आवश्यक भन्दै मन माझामाझ गर्छन्। र, सम्बोधनका क्रममा आफूहरूले विगत भुलेर सम्बन्ध पुनस्र्थापित गरिरहेको सन्देश पनि दिन्छन्। यसैक्रममा शनिबार पनि दुवैजना एउटै मञ्चमा देखिए।

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर राजधानीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो। जसमा माओवादी केन्द्रका अध्यक्ष दाहाल आमन्त्रित थिए। जहाँ दाहालले दुवै मिल्न लागेको सन्देश दिनेगरी भाषण गरे। दाहालले देशमा अर्को जनयुद्धको आवश्यकता रहेको अभिव्यक्ति पनि दिए। उनले भट्टराईलाई साक्षी राखेर आफूहरूले ‘अर्को जनयुद्ध आवश्यक रहेको निष्कर्ष’ निकालेको बताएका हुन्। ‘अहिले फेरि बाबुरामजी र मैले २५ वर्षअघिको अवस्थालाई सोच्दै नयाँ जनयुद्धमा जाने निष्कर्ष निकालेका छौं,’ दाहालले भने, ‘यो भनेको समाजवादका लागि नयाँ खालको जनयुद्ध हुनेछ। पुरानो खालको होइन, त्यो किसिमको सम्भव पनि छैन।’

दाहालले भट्टराई र आफ्नै जोडबलमा विगतमा ‘जनयुद्ध’ भएको दाबी गरे। ‘नेतृत्व तहमा रहेका बाबुरामजी र मैले नै मुलुकलाई गणतन्त्रमा लैजान जनयुद्धबाहेक अर्को विकल्प छैन भन्ने निष्कर्ष निकालेको हुँ,’ उनले भने, ‘इतिहासको पनि र वर्तमानको पनि, देशभित्रको पनि र देशबाहिरको पनि, सबै परिस्थितिको गम्भीर ढंगले अध्ययन तथा लेखाजोखा गरेपछि जनयुद्ध गर्ने निष्कर्षमा पुगेका थियौं।’

त्यसक्रममा आफूहरूले लामो अध्ययन र छलफल गरेको दाहालले बताए। उनले भने, ‘कहिले कोटेश्वर त कहिले बाबुरामजीकै घरमा बसेर लामै र ठुलै छलफल गथ्र्यौं। त्यसबाट ठुलै प्रतिबद्धता गरेका थियौं। जुन असम्भव लाग्थ्यो। त्यतिखेरका ठुला पार्टीले तीन महिनामै सकिन्छन् पनि भन्थे।’ तर त्यो आन्दोलन १० वर्ष टिकेको र त्यसैको बलमा नेपालमा ठुलो उथलपुथल भएर गणतन्त्र आएको दाहालले बताए। त्यो आन्दोलनको निकै दूरगामी महŒव रहेको दाबी उनले गरे । ‘भोलि आउने पिँढीले पनि त्यो आन्दोलनको अध्ययन गर्नैपर्ने छ, अनुसन्धान गर्नैपर्ने छ,’ दाहालले भने।

तत्कालका लागि आफूहरूबीच एउटै चुनाव चिह्नमा चुनाव लड्ने सहमति भएको बताउँदै दाहालले यो सहमति क्षणिक नहुने दाबी गरे।  

चुनावभन्दा माथि उठेर देशको समृद्धि र विकासको नयाँ वाहक शक्ति बन्ने निष्कर्षमा आफूहरू पुगेको उनले बताए। आफूहरू छुट्टिँदाका घटनाक्रमले जनयुद्ध, त्यसको ऐतिहासिकता, त्यसबाट प्राप्त उपलब्धि र स्थापित मूल्यमान्यता कमजोर भएको महसुुस भएको पनि दाहालले बताए। त्यसैकारण माओवादविरोधी शक्तिले माओवादी आन्दोलनलाई अपमानित गर्ने र उपलब्धि उल्ट्याउने कसरत गरेको उनले बताए। दाहालले भने, ‘यस विषयमा बाबुरामजी र मैले गम्भीर समीक्षा गरेका छौं। अब त्यसो हुन दिइँदैन।’

दाहालले हरेक दशकमा भट्टराई र आफूले एउटाएउटा नयाँ काम गरेको दाबी गर्दै अब बाँकी रहेको दशक समाजवादी क्रान्तिमा समर्पण गर्ने बताए। ‘एक दशकमा हामीले जनयुद्धको योजना बनायौं, अर्को दशक जनयुद्ध गर्‍यौं। त्यसपछिको दशक नयाँ प्रयोग गर्नमा लगायौं, त्यसबाट केही पार लागेन। अब अन्तिम दशकमा देशमा समाजवाद स्थापना गरेर जाने हाम्रो लक्ष्य छ।’

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेर अगाडि जानुपर्ने आवश्यकता आफूले महसुस गरेको बताए। यसका लागि समान विचार राख्ने शक्ति अलग बस्दा समस्या निम्तिने खतरा भएकाले दाहाल र आफू मिलेर अगाडि बढ्ने निष्कर्षमा पुगेको उनले सुनाए।

नेपालमा भूराजनीतिक संकट पनि निम्तिएको भट्टराईले बताए। ‘भूराजनीतिक संकटका कारण देशमा संघीयता कमजोर पार्ने, अर्थतन्त्र कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको छ,’ उनले भने, ‘अबको निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण भई मुलुक अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ। पुराना शक्तिहरूले यो देशलाई झन् बर्बादीतिर लिएर जाँदैछन्। त्यसैले निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरूलाई बलियो बनाउने गरी हामी अघि बढौं।’

प्रकाशित: ९ आश्विन २०७९ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App