१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

युवाहरुमा भ्रम छर्ने समूहलाई परास्त गर्नुपर्छः महेश बस्नेत

फाइल तस्बिर।

नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय युवा संघको प्रचार भेलामा बोल्दै नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरुमा भ्रम छरेको बताएका हुन्। उनले राष्ट्रिय युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्न सक्नुपर्ने बताए।

नेता बस्नेतले पछिल्लो समय युवाहरुमा देखिएको निराशालाई युवा संघले समयमा समाल्न नसके विदेश पलायन वा विकृतिमा लाग्ने बताए। उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर माओवादी, वाइसेल, काँग्रेस, नेविसंघ लगायतले भ्रम छरेको आरोप लगाए।

नेता बस्नेतले नेपालमा राजनीतिक अस्थिरता फैल्याउन पार्टीका नेता कार्यकतालाई समाप्त पार्नेगरी महाशक्ति राष्ट्रका खेताला र गोठालाहरु उत्पादन गर्न विभिन्न समूह लागेको बताए। उनले त्यसको लागि अन्तर्राष्ट्रिय मिसिनहरु समेत परिचालित भएको दाबी गरे।

उनले भने,‘युवाहरुमा देखिएको निराशालाई समयमा नै राष्ट्रिय युवा संघले सम्हाल्न नसके विदेश पलायन हुनेछ। विकृति विसङ्गतितिर जान्छ। जसरी अहिले अराजकतावादी समूहले युवाहरुमा निराशाको बीउ रोपिरहेको छन्। अराजकता वादीहरुले रोपेको बीउ युवा संघले नष्ट गर्न सकेन भने विकृती विसङ्गतिमा फस्छ। त्यस्तो निराशा बीउ तोड्न नसके युवाहरुको समुह अवराधिक कर्ममा जान खोज्छ। अहिले सामाजिक सञ्जालमार्फत प्रकट भइरहेका अपराधिक गतिविधिहरुमा अराजक समूहहरुले यो समूहलाई पहिचान गरिरहेको छ। अराजक समूह अहिले भौतिक रुपमा वा साइवर मार्फत् माओवादीे, वाइसेल, काँग्रेस, नेविसंघ, भिम उपध्याय भएर, खगेन्द्र संग्रौला, बालेन शाहहरु भएर र रवि लामिछानेहरु भएर विभिन्न रङ्गीचङ्गी कुराहरु बोकेर प्रकट हुन्छ। नेपालमा राजनीतिक अस्थिरता फैल्याउने र दलित, महिलाको पक्षमा, मधेस, जनजातीको पक्षमा बोल्न पार्टी विचार नेता कार्यकतालाई समाप्त गरिदिने र नेपालमा दलालहरु उत्पादन गर्ने महाशक्ति राष्ट्रका खेतला र गोठालाहरु उत्पादन गर्न अराजकतावादी शक्तिहरु लागेका छन्। अनेक खालका अन्तराष्ट्रिय मिसनहरु परिचालित छन्। त्यहाँ युवाहरुलाई भुलाइएको छ त्यहाँबाट युवाहरुलाई ल्याउन आवश्यक छ।’

नेता बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमाले माथि जथाभावी आक्रमण भइरहेको बताए। उनले सामाजिक सञ्चाल र साइवरमार्फत् एउटा कोठामा बसेर एमालेलाई गरेको आक्रमण गरेको बताए। नेता बस्नेतले आफूलाई नक्कली आइडीमार्फत् ८ हजार १ सय जनाले गाली गर्ने मान्छे रहेको बताए। उनले नक्कली आइडी बनाएर गाली गर्नेहरुलाई राम्रो सम्बोधन गर्न नसकिने बताए।

उनले आगामी निर्वाचनमा एमाले माथि बाधा अड्चन आउँछ भने युवासंघले प्रतिकार गर्नुपर्ने बताए। उनले युवा संघले नविनता, गतिशिलतासँगै रहर लाग्दो, भर लाग्दो र डर लाग्दो युवा संघ अगाडि जाँदा मंसिर ४ गतेको निर्वाचनमा एमालेको विजय कसैले रोक्न नसक्ने बताए।  

प्रकाशित: ७ आश्विन २०७९ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App