८ वैशाख २०८१ शनिबार
राजनीति

समानुपातिकतर्फ मतपत्र छपाइ सुरू

फाइल तस्बिर

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ बुधबारदेखि सुरू गरेको छ। ‘निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नमुना मतपत्र छपाइ थालेको छ,’ आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘आयोगको आन्तरिक कार्यतालिका अनुसार भदौ २० गतेदेखि समानुपातिकतर्फको मतपत्र छपाइ सुरू गर्ने रहे पनि राप्रपा नेपालको चुनाव चिह्न विवाद टुंगो लागेपछि बुधबारदेखि मतपत्र छपाइ थालेका हौं।’ उनका अनुसार बिहीबारसम्म प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ हुनेछ। ‘दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरू हुनेछ,’ उनले भने, ‘पहिलो चरणमा निर्वाचन शिक्षा कार्यक्रमका लागि आवश्यक करिब ६ लाख मतपत्र छापिने छन्।’

आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्दै छ। ‘राप्रपा नेपालको निर्वाचन चिह्नबारे सर्वोच्च अदालतमा मुद्दा परेपछि मतपत्र डिजाइन गर्न समस्या परेको थियो,’ सहप्रवक्ता अर्यालले भने, ‘अदालतले राप्रपा नेपालको रिट खारेज गरेपछि आयोगले प्रदान गरेको तीर निर्वाचन चिह्न राखेर मतपत्रको डिजाइन गरेको छ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५०३ प्रकारका करिब ८ करोड मतपत्र छापिनेछ। ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ चार करोड र प्रत्यक्षतर्फ चार करोड मतपत्र छापिनेछ,’ उनले भने, ‘आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा करिब एक करोड ८० लाख मतदाता कायम हुने अनुमानसहित असोज २५ गतेभित्र अनुमानभन्दा १० प्रतिशत बढी मतपत्र छाप्ने तयारी गरेको छ।’

२०७४ सालको निर्वाचनभन्दा यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्रको रङ फेरिने जानकारी उनले दिए। ‘आयोगले सेतो कागजमा फरक–फरक रङ प्रयोग गरी मतपत्रमा निर्वाचन विवरण र निर्वाचन चिह्न छाप्ने तयारी गरेको छ,’ उनले भने, ‘समानुपातिकतर्फ सेतो कागजमा सुनौलो रङ प्रयोग गरी प्रदेशगत रूपमा निर्वाचन विवरण र चिह्नसहित मत्रपत्र छापिनेछ भने प्रत्यक्षतर्फ सुन्तला रङ प्रयोग गरिनेछ।’

प्रकाशित: २३ भाद्र २०७९ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App