८ वैशाख २०८१ शनिबार
राजनीति

गठबन्धनको सहारा खोज्दै मधेसी दल

फाइल तस्बिर

स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराई/मधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन्। यसपटक ती दलहरू एक्लाएक्लै भिड्न डराएका छन्।

गत स्थानीय तह निर्वाचनमा तराई/मधेसमा मधेसकेन्द्रित ६ वटा दलले प्रतिस्पर्धा गरेका थिए। यसपटक पनि ती दलले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। यहाँसम्म कि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी तथा सिके राउत नेतृत्वको जनमत पार्टीले समेत अन्य दलसँग गठबन्धन गर्न विभिन्न किसिमबाट प्रयास गरिरहेका छन्।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले सत्तारूढ पाँच दलीय गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग पटकपटक भेट गरेका छन्। कांग्रेससँग चुनावी गठबन्धन नभए एमालेसँग गर्ने लोसपाको तयारी छ। तर नागरिकता विधेयकका कारण एमालेसँग गठबन्धन गर्न लोसपाका नेताहरू अलि हच्किचाएका छन्।

लोसपालाई पाँच दलीय गठबन्धनमा ल्याउन जनता समाजवादी पार्टी (जसपा) का नेता त्यति सकारात्मक छैनन्। जसपाका प्रवक्ता मनीष सुमनले लोसपाका नेताहरूले पार्टी फुटाएको विषयमा आत्मसमीक्षा गरे गठबन्धन हुन सक्ने बताए।

‘उहाँहरूसँग गठबन्धन गर्न हामी तयार छौं तर पार्टी फुटाएको विषयमा उहाँहरूले आत्मसमीक्षा गर्नुपर्छ,’ सुमनले भने।

लोसपाका नेताहरूको बुझाइमा गठबन्धन नभए यसपटक मधेसमा चुनाव जित्न त्यति सहज छैन। ‘गठबन्धनविना एक्लै चुनाव लड्यौं भने हाम्रो पार्टीको अध्यक्षज्यू मात्र होइन, शीर्ष नेताहरू समेत जोखिममा हुनुहुन्छ। त्यसैले सकेसम्म गठबन्धन गर्ने हाम्रो चाहना हो,’ लोसपाका एक नेताले भने, ‘तर नागरिकता विधेयकका कारण अहिलेकै स्थितिमा एमालेसँग गठबन्धन गर्न हामीलाई उत्तिकै चुनौती हुनेछ।’

मधेसका ८ जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ सिट संख्या ३२ छ। स्थानीय तह निर्वाचनको परिणामलाई हेर्ने हो भने ३२ सिटमध्ये अधिकांश ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहज छ। ‘पाँच दलीय गठबन्धनमा सहभागी भएनौं भने एक्लै चुनाव लड्ने सम्भावना बढी छ,’ लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले भने।

आफ्नो राजनीतिक जीवनको उत्तराद्र्धमा पुगेका लोसपाका अध्यक्ष महन्थ ठाकुरले यसपटक जसरी पनि लोसपाको बलियो उपस्थिति देखाउन खोजेका छन्। ८२ वर्ष पूरा गरेका ठाकुरले अन्य दलसँग चुनावी तालमेल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बारम्बार कुराकानी गरेका छन्। देउवाले पनि लोसपालाई गठबन्धनमा ल्याउन चाहेका छन्। तापनि गठबन्धनमा सहभागी अन्य दलहरूको अनिच्छाका कारण लोसपा पाँच दलीय गठबन्धनमा जाने सम्भावना निकै कम छ।

जनता प्रगतिशील पार्टीले यही मंसिर ४ गते हुने चुनावमा अन्य दलहरूसँग गठबन्धन गर्न सबै दलहरूलाई पत्राचार गरेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष शिवजी यादवले टेलिफोन गरेर चिठीको रेस्पोन्स दिन आग्रह गरे। तापनि कसैले चिठीको रेसपोन्स दिएनन्। ‘हामीले फेरि ताकेता गर्नेछौं तर अहिलेसम्म कसैले पनि हाम्रो चिठीको रेस्पोन्स गरेका छैनन्,’ वरिष्ठ उपाध्यक्ष यादवले भने। यादवका अनुसार लोसपाका नेताहरूले चुनावी गठबन्धनको विषयमा मौखिक रूपमा छलफल गरेका थिए तर औपचारिक रूपमा चिठीको जवाफ दिन लोसपाका नेताहरूले पनि इच्छा देखाएका छैनन्।

स्थानीय तह निर्वाचनको परिणाम आएलगत्तै जनमत पार्टीका अध्यक्ष राउतले काठमाडौं आई अन्य दलहरूसँग चुनावी गठबन्धन गर्न विभिन्न दलहरूसँग औपचारिक/अनौपचारिक संवाद गरेका थिए। तर, उनको त्यो प्रयासले अहिलेसम्म सार्थकता पाउन सकेको छैन। चुनावी गठबन्धन नभए एक्लै चुनाव जित्न गाह्रो हुने जनमत पार्टीका नेताहरूको बुझाइ छ।

स्थानीय तह निर्वाचनमा कैलालीमा प्रभाव जमाएको नागरिक उन्मुक्ति पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनको विषयमा केही बोलेको छैन। तर, आफ्नो पार्टीलाई फाइदा हुने गरी अन्य दलसँग गठबन्धन गर्नसक्ने सो पार्टीका नेताहरूले नीति बनाएका छन्। कैलालीलगायत सुदूर पश्चिमका केही जिल्लामा उम्मेदवारी दिने नागरिक उन्मुक्ति पार्टीको तयारी छ।

गत स्थानीय निर्वाचनमा जसपा, लोसपा, जनमत पार्टी, जनता प्रगतिशील पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक्लाएक्लै उम्मेदवारी दिएका थिए। सत्तारुढ गठबन्धनमा आबद्ध जसपाले भने महानगर, उपमहानगर सबैमा तथा एकाध स्थानीय तहमा तालमेल गरेको थियो। लोसपाले पनि केही स्थानीय तहमा एमालेसँग चुनावी गठबन्धन गरेको थियो। तर, कैलालीका एकाध स्थानीय तहबाहेक मधेसी दलहरूकै बीचमा भने कतै पनि चुनावी तालमेल भएको थियो।

प्रकाशित: १४ भाद्र २०७९ ०१:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App