१६ चैत्र २०८० शुक्रबार
राजनीति

म अहिले पनि १८ घण्टा काम गर्छु, साथीहरु १४ घण्टा काम गर्नूस्: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा टिकट पाईन भनेर असन्तुष्ट नहुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

सिंगो पार्टी एकतावद्ध भएर लाग्ने हो भने आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकीर गर्दै अध्यक्ष ओलीले त्यसका लागि एकजुट भएर निर्वाचनको काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई सचेत गराए। पार्टी पंक्ति एकजुट भएर निर्वाचनमा नजाने हो भने त्यसले आगामी निर्वाचनमा पार्टीलाई ठूलो घाटा बनाउने उनको भनाई थियो।

नेकपा (एमाले) पर्सा जिल्ला कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उम्मेदवार हुनेले जित्नका लागि काम गर्ने र उम्मेदवार नपाउनेले जिताउनका लागि लागेमात्रै पार्टीको हित हुने पनि पटकपटक दोहोर्‍याए। 

उम्मेदवार नपाउनेहरु असन्तुष्ट भए त्यसले पार्टीलाई ठूलो घाटामा पुर्‍याउने उल्लेख गर्दै उनले उम्मेदवार नपाएहरुलाई पार्टीले सरकार बनाए, बहुमत ल्याए काम गर्नका लागि थुप्रै ठाउँहरु हुने पनि स्पष्ट पारे। ओलीले पार्टीका कुनै पनि नेता, कार्यकर्ताले विरोधीले उकासेको भरमा अधैर्यता राख्ने काम गर्न नहुने बताए। उनले आगामी निर्वाचनमा मतदाताको संख्या बढाउने  र मतको रक्षा गर्ने काममा एमाले केन्द्रित हुनुपर्ने पनि बताए।

अध्यक्ष ओलीले भने, ‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु-एमाले अब अत्यन्त सक्रिय हुनुपर्छ। जो नेता साथीहरु हुनुहुन्छ, उहाँहरुको पदको नेता होइन, लिड गरेर कामका नेता। म अहिले पनि १८ घण्टा काम गर्छु। १८ घण्टा काम गर्छु म। अनि, प्रायः साथीहरु त म भन्दा कमै उमेरका हुनुहुन्छ। १८ घण्टा म काम गर्छु भने १८ घण्टा नगर्नुस तर कमसेकम १४ घण्टा त गर्नुस्। १२ घण्टा गर्नुस्। १० घण्टा गर्नुस् त्यो सक्नु हुन्न भने कमसेकम ८ घण्टा गर्नुस्। ८ घण्टा मात्रै एक जना मानिसले काम गर्‍यो भने धेरै काम हुन सक्छ। त्यसकारण सक्रिय बनौं। संयमित बनौं, शालिन बनौं। विनम्र बनौं। र, जनताका बीचमा जाऔं। म नेताजीहरुलाई पनि आग्रह गर्न चाहन्छु।'

अध्यक्ष ओलीले तराई, मधेशमा देखिएका नागरिकताको समस्या समाधान गर्ने काम एमालेले मात्रै गर्न सक्ने दावी गरे। अरुले मधेशमा त्यहाँका जनताको समस्या समाधान होइन, राजनीति मात्रै गरिरहेको उनको आरोप थिए। 

ओलीले २०५१ सालमा आफूले गृहमन्त्री भएको बेला नागरिकता समस्या समाधानका लागि धनपति आयोग बनाएको र पछि प्रधानमन्त्री हुँदा ती समस्या समाधानका लागि ल्याइएको विधेयक तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफैंले अघि बढन नदिएको गुनासो समेत गरे। 

उनले विवाहित अंगीकृत नागरिकता पाउनका लागि केही समय कुर्नुपर्ने भन्दै त्यसलाई हतारोको विषय बनाउन नहुने बताए। अध्यक्ष ओलीले मधेशका जनताको समस्या समाधानका लागि एमाले नेतृत्वको अघिल्लो सरकारले धेरै काम गरेको दावी समेत गरे।

प्रकाशित: ७ भाद्र २०७९ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App