१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पार्टीमा अनुशासन तोड्नेलाई दण्डित गरिएन भने पार्टी कम्युनिष्ट जस्तो रहँदैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन्।

सोमबार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरुको छानविन गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अन्तर्घातको छानविन गरिएको बताए।

उनले राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो काम गर्नेलाई दण्डित नगर्ने हो भने पार्टी कम्युनिष्ट पार्टी जस्तो नरहने बताए। अध्यक्ष दाहालले पार्टीलाई विधिसम्मत् रुपमा चलाउने पनि बताए।

उनले भने, ‘यो कुरा कुनै खास ठाउँमा भएका अनियमितता वा गढबडीहरुलाई सच्याउने कुरासँग मात्रै सम्बन्धित छैन। यो पार्टीलाई विधिसम्मत तरिकाले र अनुशासनमा राखेर चलाउने विषयसँग बढी सम्बन्धित छ। त्यसकारण राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरुलाई दण्डित गर्ने यो प्रक्रिया अगाडि नबढाउने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो रहँदैन। त्यसकारण हाम्रो उद्देश्य पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित पार्नेसँग सम्बन्धित छ। यो छानविन नगरीकन दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडी नबढाइकन पार्टी निर्माण, कम्युनिष्ट आन्दोलनको पुनर्गठन र हामीले जे सपना देखेका छौँ समाजवादतिरको यात्रा, सम्भव छैन। त्यसकारण हाम्रो पार्टी केन्द्रले समग्र रणनीतिक विषयलाई सैद्धान्तिक रुपले विचार गरेर नै यो छानविन समिति बनाएको हो।’

उनले छानविन समितिले विभिन्न नेता कार्यकर्तालाई निलम्बन, निष्काशन र चेतावनी दिनुपर्ने निस्कर्ष निकालेको भन्दै प्रतिवेदनको सम्बन्धमा पार्टीको पदाधिकारी र स्थायी कमिटी बैठकमा छलफल गरेर आवश्यक कारबाही गरिने बताए।

प्रकाशित: ६ भाद्र २०७९ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App