८ वैशाख २०८१ शनिबार
राजनीति

समाजवादी चिन्तक गिरिको निधन

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका बौद्धिक नेता गिरिको ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति ९:३० बजे ७५ वर्षको उमेरमा निधन भएको हो। उनको जन्म सन् १९४७ नोभेम्बरमा भएको थियो। उनी मित्रलालका छोरा थिए।

लामो समय भारतमा उपचार गराएर स्वदेश फर्केलगत्तै स्वास्थ्यमा थप समस्या देखिएपछि मेडिसिटी अस्पताल भर्ना भएका गिरिको स्वास्थ्य शुक्रबार निकै कमजोर बन्न पुगेको थियो। घाँटीको क्यान्सर शरीरका सबैजसो अंगमा फैलिएका कारण उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो। कांग्रेसका नेता–कार्यकर्ता र उपचारमा संलग्न चिकित्सक उनको स्वास्थ्यमा चामत्कारिक सुधारको प्रतीक्षामा थिए। तर उनको स्वास्थ्यमा कुनै चामत्कारिक सुधार हुन सकेन।  

करिब एक महिनाअघि मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिलाई निमोनियासमेत देखिएपछि आइसियुमा राखेर उपचार गरिँदै आएको थियो। घाँटीमा समस्या देखिएपछि उपचारका लागि भारत पुगेका गिरिलाई क्यान्सर लागेको पुष्टि भएको थियो। मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना भएका उनको घाँटीको क्यान्सर फैलिएको जानकारी गराउँदै चिकित्सकले स्वदेशमै गएर आराम गर्न सुझाएका थिए। चिकित्सकको सल्लाहअनुसार साउन ८ गते काठमाडौं फर्केका उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि १० गते ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।  

मुलुकमा देखिएका विकृति विसंगतिप्रति स्पष्ट धारणा राख्ने निर्भीक नेता थिए गिरी। आफ्ना पार्टीका शीर्ष नेतालाई मात्र होइन, अन्य राजनीतिक दलका नेता–कार्यकर्तासँग पनि आँखामा आँखा जुधाएर उनीहरूका कमजोरी औंल्याउने हिम्मत भएका गिरि गान्धीवादी नेता थिए। समाजवादी चिन्तकको छवि बनाएका गिरि माक्र्सवादका अध्येता र चिन्तक पनि थिए। कांग्रेसजनले मात्र होइन, सबैजसो दलले बौद्धिक नेताका रूपमा मान्ने गिरिको छवि मित्रराष्ट्र भारतसहितका देशहरूमा पनि त्यस्तै थियो।

गिरि २०१७ सालदेखि राजनीतिमा सक्रिय थिए। २०२५ सालमा राजाको सक्रिय शासनको अन्त्य र प्रजातन्त्र पुनर्बहालीको पक्षमा सक्रिय हुँदा १८ महिना जेल बसेका उनी २०४२ सालमा भएको आन्दोलनका क्रममा पनि जेल परे। २०२४ सालमा बनारसमा गठित नेपाल छात्र संघको उपाध्यक्ष भएका गिरि कांग्रेसको १०औं महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित भएका थिए।  

राजनीतिक विश्लेषक तथा समाजवादी चिन्तक गिरिका झन्डै दुई दर्जन पुस्तक प्रकाशित छन्। बिपी कोइरालाको सान्निध्यमा रहेर काम गरेका उनलाई कांग्रेसजनले मात्र होइन, अन्य राजनीतिक दलले पनि बिपीको समाजवादी चिन्तनको सच्चा व्याख्याताका रूपमा हेर्छन्।

बिपी कोइरालाका विभिन्न पक्षहरूका बारेमा पुस्तक प्रकाशन गरिसकेका गिरिका केही पुस्तक प्रकाशोन्मुख छन्। सिरहालाई राजनीतिक क्षेत्र बनाउँदै आएका गिरि प्रतिनिधिसभाका निर्वाचित सदस्य थिए। कहिल्यै पनि लाभको पदमा नबसेका उनको स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा पार्टी नेतृत्वको सरकारले उपचार खर्च बेहोर्ने प्रस्ताव गरेको थियो। तर गिरिले त्यसलाई स्विकारेनन्। उनले पार्टी नेता तथा कार्यकर्ता र शुभेच्छुकले गर्ने सहयोगबाहेक राज्य तहबाट हुने कुनै पनि आर्थिक सहयोग नलिने बताएका थिए। जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गिरि अध्ययनमा विशेष रुचि राख्थे। उनको निधनले नेपाली कांग्रेसले मात्र होइन, मुलुकले नै एक बौद्धिक तथा समाजवादी चिन्तक गुमाएको छ।  

नेता गिरिको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल र ११:३० देखि दिउँसो २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। गिरिको अन्तिम संस्कार आइतबार नै पशुपति आर्यघाटनमा गरिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीनबहादुर विकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

यसैबीच कांग्रेस सभापति  एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिको निधनप्रति दु:ख व्यक्त गरेका छन् । ‘कांग्रेस नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु,’ विज्ञप्तिमा छ, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दु:खद खडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्छु ।’

प्रकाशित: ५ भाद्र २०७९ ००:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App