८ वैशाख २०८१ शनिबार
राजनीति

'बाबुरामसँगै मिलेपछि कसैले रोकेर रोकिदैनाैं, चुनावपछि नेकपा एससँग पनि एकता हुन्छ'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँग मिलेपछि अब कसैले रोकेर रोक्न नसकिने बताएका छन्। 

बामपन्थी आन्दोलनमा र कम्युनिष्ट आन्दोलनमा बाबुराम र प्रचण्डसँगै उभिनुको ठूलो अर्थ र महत्व रहेको उनले बताए। चुनावपछि माधव नेपालसँग एकता गर्ने सहमति छिट्टै बनाउने उनको भनाइ छ। उनले  एकता संयोजन समिति बनाउने तयारी भइरहेको पनि बताए।  

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले संचारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन्। उनले पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरुबीच सहमति भएको र त्यसमा समाजवादी वा यस्तै केही थपिने पनि बताए। 

अध्यक्ष दाहालले बाबुराम भट्टराईसँग पनि चुनाव पछाडि एउटै केन्द्र बनाएर जाने विषयमा सहमति गरिएको बताए। अध्यक्ष दाहालले भने, ‘अहिले बामपन्थी आन्दोलनमा र कम्युनिष्ट आन्दोलनमा पनि बाबुरामजी र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ। हामी उभियौं अब। अब कसैले रोकेर रोकिदैँन। त्यो ठूलो कुरा हो भनेर म भन्न चाहन्छु। यद्यपि आजै पार्टी एकता भएको होइन। चुनाव पछाडि हामी एउटै केन्द्र बनाउने भन्ने कुरा समझदारीमा गएका छौं। अहिले चुनाव चिन्ह, घोषणा पत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौं। यसको नेपालको राजनीतिमा, नेपालको यो परिवर्तनलाई संस्थागत गर्ने र विकास गर्ने कुरामा, देशलाई समृद्धिको दिशातिर लैजाने कुरामा पनि निकै ठूलो महत्व छ भन्न चाहन्छु म। र, अर्काे कुरा यतिमात्रै हाम्रो लक्ष्य होइन। हामी अरुपनि बामपन्थीहरुसँग जस्तो माधव नेपालजीहरुसित हामी पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं। नाम नेपाल कम्युनिष्ट पार्टी नै रहन्छ। चुनाव अघि त केही पनि हुँदैन। चुनावपछि नाममा चाँही नेकपा समाजवादी वा यस्तै केही हुन सक्छ। नेकपा राख्ने भन्नेमा भने सहमति भईसक्यो।’

अध्यक्ष दाहालले बाबुराम भट्टराईहरु पनि सत्तारुढ गठबन्धनमै रहेकाले त्यसमा आवद्ध दलहरुसँगको सहमतीमै उनीहरुको पनि सिट संख्या निर्धारण हुने विश्वास समेत व्यक्त गरे।

प्रकाशित: ३१ श्रावण २०७९ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App