coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धनगढीका स्वतन्त्र मेयर गोपाल भक्तपुरमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गर्न कैलालीको धनगढी उपमहानगरपालिकामा २०७९ को स्थानीय तहको चुनावमा स्वतन्त्र रुपमा विजयी नगर प्रमुख गोपाल हमाल बुधबार भक्तपुर आएका छन्।

भक्तपुर नगरपालिकाकाको शिक्षा, स्वास्थ्य र विशेषगरी फोहाेरमैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा उनी आएको बुझिएको छ। नगर प्रमुख हमाललाई भक्तपुर नगर प्रमुख प्रजापतिले भेट गरी नगरपालिकाद्वारा सञ्चालित विविध गतिविधिहरुबारे जानकारी गराए।

भेटमा भक्तपुर नगर प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँचको लागि भक्तपुर नपाले स्वास्थ्य केन्द्र हुँदै अहिले १०० शैय्याको ख्वप अस्पतालमार्फत् अन्तरंग सेवा सुरु गरिसकेको अवगत गराए। प्रमुख प्रजापतिले ख्वप अस्पतालबाट व्यापक जनताले सस्तो र स्तरीय स्वास्थ्य सेवा पाइरहेको चर्चा पनि गरे।

भक्तपुर नपाले आजभन्दा ४ वर्ष अघिदेखि कुहिने र नकुहिने फोहर अलगअलग दिन संकलन गर्दै आएको र हाल कुहिने फोहरबाट कम्पोष्ट मल निर्माण गरी किसानहरुलाई सस्तोमा बिक्रीसमेत सुरु गरिसकेको उनले जानकारी गराए।

विकास निर्माणको सन्दर्भमा भक्तपुर नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्फत् पारदर्शी ढङ्गले गुणस्तरीय निर्माण गर्दै आइरहेको उनले बताए। उनले भक्तपुर नपा युवा तथा विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालित सीपमूलक तालिमले रोजगारी सिर्जना भएको बताए।

धनगढी उपमहानपाका प्रमुख हमालले सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताउँदै धनगढी उपमहानपाले वडा क्लिनकको अवधारणा अनुसार गर्भवती महिलाहको लागि यसै आर्थिक वर्षदेखि विशेषज्ञसहित १९ वटै वडामा अल्ट्रासाउण्ड, इसीजी र ल्याबको स्वास्थ्य सेवा निःशुल्क रुपमै सुरु गरेको बताए।

उनले भक्तपुर नपाको सरसफाइ र फोहोर व्यवस्थापनको चर्चा व्यापक रहेको हुँदा यहाँबाट सिक्ने उद्देश्यले भक्तपुर आएको बताए। जनतालाई स्थानीय सरकारको औचित्यता पुष्टि हुने ढंगले जनप्रतिनिधिहरुले काम गर्नुपर्नेमा उनले जोड दिए। भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, धनगढी उपमहानपाबाट महेशप्रसाद दाहाल र रुपक जोशीको उपस्थिति रहेको थियो।

यसअघि भक्तपुरका नगर प्रमुख प्रजापतिले नगर प्रमुख हमाललाई खादा र भादगाउँले टोपीले स्वागत गरेका थिए। सोही क्रममा भ्रमण टोलीले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजकोसमेत स्थलगत अवलोकन भ्रमण गरेको थियो।

प्रकाशित: ११ श्रावण २०७९ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App