१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेशको नामाकरणमा मुख्यमन्त्रीको अभिव्यक्ति खेदजनकः एमाले

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले केही दिनदेखि प्रदेशको नामाकरणका विषयमा व्यक्त गरेको अभिव्यक्तिप्रति नेकपा एमाले मोरङले खेद व्यक्त गरेको छ।

नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेको हो। शनिबार सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै त्यसप्रति खेद व्यक्त गरेको हो।

एमाले मोरङले अविलम्ब प्रदेशबासी सबैलाई मान्य हुने साझा नाम राख्न समेत सुझाव दिएको छ। सार्वजनिक महत्वका क्षेत्रमा विभिन्न १८ बुँदे निर्णय गरेको एमाले मोरङले अलपत्र अवस्थामा छाडिएको हुलाकी राजमार्ग र रतुवा खोलाको पूल निर्माणको काम अविलम्ब सक्न सरकारको ध्यानाकर्षण गराएको छ।

यस्तै अधिक बजेट खर्च गरेको देखाउने नाममा प्रदेश सरकारले गत जेठ र असारमा अत्यन्तै कमसल तथा गुणस्तरहीन काम गर्दै अरबौं रुपैयाँको अपचलन गरेको भन्दै एमालेले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। धान रोप्ने मुख्य समयमा समेत मल र बीउको उचित व्यवस्थापन नगरेर वर्तमान सरकार राज्यको ढुकुटी लुट्न मात्र उदृत देखिएको आरोप एमालेले लगाएको छ।

मोरङका विभिन्न नाकाबाट सरकारी आडमै दिनदहाडै तस्करी संस्थागत हुँदै गएको भन्दै एमालेले तस्करी रोक्न र प्राकृतिक विपद्को क्षति न्यूनीकरणका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ। सरकारी सेवाप्रदायक कार्यालयहरुमा हुने गरेको ढिलासुस्ति, अनियमितता, भ्रष्टचार, घुसखोरीलगायतका बेथितिहरुलाई नियन्त्रण गरि आम नागरिकलाई सहज, सरल र भरपर्दो सेवा प्रवाह गर्न ध्यानाकर्षण गराएको छ।

यस्तै नेकपा एमाले मोरङले आगामी दुई महिनाभित्र पार्टीको संगठनात्मक कामलाई पूर्णता दिई राजनैतिक तथा वैचारीक प्रशिक्षण अभियान चलाउने भएको छ। पार्टीका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार दुई महिनाभित्र पार्टीका सम्पूर्ण कमिटी तथा जनसंगठनहरुलाई पूर्णता दिइ गतिवान  बनाउने निर्णय भएको जानकारी दिए।

प्रकाशित: ७ श्रावण २०७९ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App