१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

जसपामा किचलो: सहमतिमै छुट्टिने

भट्टराई र  यादवबीचको ‘वान टु वान’ वार्तामा पार्टीभित्रको विवाद साम्य पारेर आआफ्नो बाटो लाग्ने भद्र सहमतिम भएको छ।

जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ (भद्र सहमति) भएको छ। यद्यपि भद्र सहमति भएको भोलिपल्टै भट्टराई र यादव पक्षनिकट नेताहरू भने आरोपप्रत्यारोपमा उत्रिसकेका छन्। यस्तो परिस्थितिबीच अध्यक्ष यादवले यही असार २७ र २८ गते वीरगन्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन्।

बुधबार साँझ भट्टराई र यादवबीच ‘वान टु वान’ भेटवार्ता भएको थियो। भेटवार्ता सकिएलगत्तै यादवले संसदीय दलको अनौपचारिक बैठक बोलाएका थिए। जसपाको कार्यकारिणी समितिका सदस्य तथा राष्ट्रियसभा सदस्य मिर्गेन्द्रसिंह यादवका अनुसार सो बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता यादवले भनेका थिए, ‘भट्टराईज्यूसँग भेट भयो। उहाँले एक अर्कालाई गालीगलौज नगरी सौहार्दपूर्ण ढंगबाट छुट्टिने प्रस्ताव राख्नुभएको छ।’

उक्त बैठकमा भट्टराई र उनीनिकट सांसदहरू महेन्द्र यादव र राजकिशोर यादवलाई भने बोलाइएको थिएन। भट्टराई निकट नेतृ अमृता अग्रहरी भने बैठकमा सहभागी भएकी थिइन्। ‘छुट्टिने अवस्था आयो भने एक अर्कालाई गालीगलौज नगरी सौहार्दपूर्ण वातावरणमा छुट्टिने कुरा आएको हो। तर अहिले नै छुट्टिने भन्ने कुराचाहिँ भएको होइन,’ भट्टराई निकट कार्यकारिणी सदस्य डम्मर खतिवडाले भने।

तर भट्टराई निकट अर्का कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने सौहार्दपूर्ण ढंगबाट छुट्टिने भनेर भट्टराईबाट प्रस्ताव नै नआएको दाबी गरे। उनले भने, ‘यादवज्यूबाट अतिरञ्जित प्रचार भइरहेको छ ।’ यादवले नै पार्टीलाई मुठभेडतिर लैजान खोजेको उनको आरोप छ। ‘कार्यकारिणी अध्यक्षज्यूले नै पार्टीलाई मुठभेडतिर लैजान खोज्नुभएको छ। यो दुर्भाग्य हो,’ उनले भने।

स्रोतका अनुसार बुधबार बोलाइएको संसदीय दलको अनौपचारिक बैठकमा अध्यक्ष यादवले भट्टराई र आफूबीच भएको कुराकानीबारे ब्रिफिङ गर्दै भनेका थिए, ‘भट्टराईज्यूले नयाँ शक्तिबाट आएका साथीहरू जसपामा एडजस्ट हुन नसकेको बताउनुभयो। उहाँले सौहार्दपूर्ण ढंगबाट अलगअलग हुने प्रस्ताव राख्नुभएको छ।’ कुराकानीपछि आफूहरू छुट्टिने बेला पनि अत्यन्त सौहार्दपूर्ण किसिमले छुट्टिएको र भेटवार्तामा कुनै विवाद नभएको यादवले जानकारीदिएका थिए।

पोहोर साल पनि अध्यक्ष यादव र तत्कालीन अर्का अध्यक्ष महन्थ ठाकुरबीच विवाद भएका बेला मिल्न नसक्ने अवस्था आए सौहार्दपूर्ण ढंगबाट छुट्टिनुपर्ने भन्दै भट्टराईले नै सार्वजनिक रूपमै प्रस्ताव राखेका थिए। यादव र ठाकुर बीचको विवादमा भट्टराईले यादवलाई साथ दिएका थिए। एक वर्ष नपुग्दै परिस्थिति फेरिएको छ।

त्यतिबेला यादवलाई साथ दिएका भट्टराई अहिले आफैं उनीबाट छुट्टिन खोजेका छन्। यादवनिकट एक नेताले भने, ‘अब एक ठाउँमा बस्न नसक्ने मनस्थिति भट्टराई र यादव दुवैले बनाइसक्नुभएको छ। खाली कसरी छुट्टिने भन्ने मात्र समस्या हो। पार्टी फुटाउन भट्टराईसँग केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुगेको भए यो समस्या नै आउने थिएन तर अहिले भट्टराई पक्षसँग ४० प्रतिशत पुग्न गाह्रो छ।’

यसैगरी भट्टराई पक्षका अर्का एक नेताले भने, ‘स्थानीय तहको चुनावअघि हामी बहुमतमा थियौं। त्यो बेला हामी अलग भएनौं। पार्टीलाई फुट्न दिनु हुँदैन भन्ने सोच बनायौं तर अहिले उहाँहरूले पार्टी फुटाउन खोज्नुभएको छ ।’ स्रोतका अनुसार पछिल्लो समय भट्टराईलाई साथ दिएका इस्तियाक राई र प्रदीप यादव अहिले यादवको कित्तामा पुगेका छन्। तर महेन्द्र यादव र राजकिशोर यादवले भनै अझै भट्टराईको साथ छाडिसकेका छैनन्।

मन्त्री हुने आकांक्षाले केही सांसद नखुलेको र केही सांसद यादवको कित्तामा पुगेको भट्टराई पक्षीय नेताहरूको दाबी छ। भट्टराईनिकट अर्का एक सांसदले भने, ‘चुनावसम्म यादवज्यू रक्षात्मक अवस्थामा हुनुहुन्थ्यो तर अहिले उहाँ आक्रामक हुनुभएको छ। उहाँको यस्तो व्यवहारबाट पार्टी एक हुने सम्भावना अब धेरै कम छ।’ भट्टराई र यादवबीचको विवादमा अर्का शीर्ष नेता अशोक राई भने कतै खुलेका छैनन्।

प्रकाशित: १७ असार २०७९ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App