नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाएका छन्।
बुधबार समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन्। उनले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउनेजति सिट र मत प्राप्त गर्न नसकेको दाबी गरे। सम्मानित नेता खनालले अहिले नौ लाख मतदाता पार्टीमा रहेको भनेपनि त्यो संख्या झन्डै २० लाख रहेको बताए। उनले अहिलेको स्थानीय तह सदस्य निर्वाचनमा प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै देशको हीतको लागि नमूना काम गर्नुपर्ने बताए।
सम्मानित नेता खनालले रुस र युक्रेनको युद्धका कारण देखाउँदै सरकरले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरुद्धमा आफ्नो पार्टी रहेको बताए। उनले नेकपा (एकीकृत समाजावादी) मूल्यवृद्धिको पक्षमा नरहेको भन्दै सरकारले अविलम्व मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्ने बताए। सम्मानित नेता खनालले सरकारले कुनै बहाना नबनाइ जनतालाई राहत दिनुपर्ने बताए।
उनले भने, ‘मूल्यवृद्धिले जनताको ढाड सेक्छ, हामीले यसकोबिरुद्धमा आवाज उठाउनु पर्छ। नेकपा एकीकृत समाजावादी यो मूल्यवृद्धिका पक्षमा छैन। अविलम्व सरकारले यो मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्छ। जनतालाई सहुलियत दिनुपर्छ।’
सम्मानित नेता खनालले नेपालको सीमा अंकित गर्ने कुरामा आवाज उठाउनुपर्ने आवश्यक्ता रहेको बताए। उनले फोहोरको समस्या समाधानका लागि अविलम्व आवाज उठाउनुपर्ने र आम जनताले निर्वाचन लड्नसक्ने अवस्था बनाउन आवश्यक रहेको पनि बताए।
प्रकाशित: ८ असार २०७९ १२:१० बुधबार