१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

योगलाई विज्ञानसँग जोडौँः पोखरेल

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले योगलाई विज्ञानका रुपमा हेर्न अनुरोध गरेका छन्। भरतपुरको बागेश्वरीमा रहेको प्राकृतिक चिकित्सालयले आयोजना गरेको आठौँ अन्तराष्ट्रिय योग दिवस कार्यक्रममा बोल्दै पोखरेलले योगलाई धर्मसँग नजोडि विज्ञानसँग जोड्न अनुरोध गरेका हुन्।

‘अहिले योगलाई धर्मसँग हेर्ने गरिन्छ,’ उनले भने, ‘योगलाई विज्ञानसंग हेर्न अनुरोध गर्दछु।’ पूर्व शिक्षामन्त्री समेत रहेका पोखरेलले योगलाई शिक्षासंग जोड्नुपर्ने धारणा राखे। ‘म मन्त्री हुँदा विद्यालय शिक्षा र प्राविधिक शिक्षाको कक्षा ९ देखि १२ को कोर्षमा योग सम्बन्धी विषयवस्तुहरु समावेश गरिएको छ,’ सिराहामा प्राकृतिक चिकित्सालय सञ्चालनको उदाहरण दिँदै उनले भने, ‘योग, ध्यानलाई जोडेर स्थानीय तथा प्रदेश सरकारले प्राकृतिक शिक्षालय सञ्चालन गर्न आवश्यक छ।’

उनले योगलाई स्वास्थ्य शिक्षासंग हेरिनुपर्ने धारणा राखे। यो मावन जीवनको आवश्यकतासँग गासिँएको बताउँदै पोख्रेलले पछिल्लो समय योगको विस्तार भएको समेत जिकिर गरे। ‘पछिल्ला वर्षमा पश्चिमा राष्ट्रमा पनि योगको व्यापक विस्तार भएको छ।’ उनले भने, ‘शास्त्रको कुरामा मात्र होइन शिक्षालाई पनि हेरिनु पर्दछ।’

कर्मचारीले आयूर्वेद र प्राकृतिक शिक्षालाई जागिरका रुपमा हेरेका कारण पनि पछाडि परेको दुखेको गरे। उनले योगलाई राष्ट्रिय  अभियानका रुपमा लैजानुपर्ने धारणा राखे। फरक प्रसंगमा पोख्रेलले तत्काल मन्त्रीहरु परिर्वतन गर्न नहुने बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) र माओवादीकै केही नेताहरुले मन्त्री परिर्वतन गर्ने कुरा उठाइरहेका छन्। ‘नीती कार्यक्रम आएको छ। बजेट आएको छ। पास भएको छैन,’ उनले भने, ‘मन्त्रीहरु बदल्ने कुरा नै उपयुक्त छैन।’ न्यूनतम साझा कार्यक्रमहरु बनाएर अगाडी बढ्नुपर्ने धारणा राखे। एमालेले अर्थमन्त्रीको राजीनामा राखेको विषयमा भने उनी खुलेर बोलेनन्। एमसिसी र एसपीपीको विषयमा पार्टीमा छलफल हुने उनले बताएका छन्।

यस्तै संस्कृत विश्वविद्यालयका योग विभाग प्रमुख नारायण गौतमले योग विज्ञानको कोर्ष भएको बताउँदै कक्षा सञ्चालन गर्न अनुरोध गरे। ‘योग विज्ञानको कोष छ। सञ्चालन गर्नुहोस्,’ उनले भने, हामी योगको शिक्षा दिन्छौँ।’ आधात्मिक शिक्षा जीवनसँग जोडिएको उनले बताए। सो कार्यक्रममा योगहरु समेत गरेर देखाइएको थियो। प्राकृतिक चिकित्सालयका निर्देशक हेमराज कोइरालाले सहजिकरण गरेको कार्यक्रममा संस्थाका अध्यक्ष पूर्णबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो।

प्रकाशित: ७ असार २०७९ ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App