१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘बजेटको गोपनीयता चुहावट भयो’

फाइल तस्बिर।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले बाहिरको व्यक्ति घुसाएको भन्दै आपत्ति जनाएको छ।

सोमबार बसेको बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा बाहिरको व्यक्ति राखेर बजेट निर्माण गरेको कुरा बाहिर आएकाले त्यसबारे स्पष्ट गर्न सरकारलाई आग्रह गरे।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना निश्चित व्यक्तिलाई बजेट निर्माण गर्ने गोप्य शाखामा लगेर करको दर हेरफेर गर्न मन्त्रालयका कर्मचारीलाई दबाब दिएको भन्दै उनले यस विषयमा प्रस्ट पार्न सरकारसँग माग गरेका हुन्।

यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्री दुवैले स्पष्टीकरण दिनुपर्ने उनको भनाइ थियो। अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा त्यसरी अर्थ मन्त्रालयमा बाहिरको मानिसलाई प्रवेश गराउनु राष्ट्रका नाममा खाएको शपथको खिलाफ भएको उनको भनाइ थियो।

‘बजेट निर्माणको झन्डै एक महिनाअघिदेखि बजेट शाखामा र अर्थ मन्त्रालय बाहिरका कुनै व्यक्तिलाई प्रवेश दिइँदैन,’ उनले भने, ‘त्यस्तो ठाउँमा यस्ता काम हुन्छन् भने यो राष्ट्रका नाममा खाइएको शपथको खिलाफ भएको छ।’ त्यसो गर्नु जनघात मात्र नभएर राष्ट्रघातसमेत भएको उनले बताए।

‘जबर्जस्ती अर्थमन्त्रीको निर्देशनमा मध्यरातमा तमाम वस्तुमा राजस्व र भन्सारका दर तलमाथि गरेर के गर्न खोजिएको हो?’ उनले भने, ‘हामी यो गम्भीरताका साथ प्रश्न उठाउन चाहन्छौं। यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिनुपर्छ।’

अर्थमन्त्री शर्माले आफ्नो एक निश्चित व्यक्तिलाई जेठ १४ गते मध्यराति अर्थ मन्त्रालयमा खटाई विद्युतीय गाडी, स्वास्थ्य बिमा, फलाम तथा फलामजन्य वस्तु, सेनिटरी प्याडलगायतमा करको दर हेरफेर गराएको भन्ने कुरा बाहिर आएको सांसद भट्टराईको भनाइ थियो। करको दर हेरफेर गर्दा कतिपय उद्योगव्यवसाय धराशयी बन्ने उल्लेख गर्दै उनले त्यसबारे स्पष्ट पार्न माग गरे।

एमाले सांसद महेश बस्नेतले पनि अर्थमन्त्री जनार्दन शर्माले कमिसनमा करको दररेट चलाएको आरोप लगाए। ‘अर्थमन्त्रीज्यूले भन्सार करका दररेटलाई राति ल्याएर हेरफेर गर्नुभयो भन्ने र अर्थमन्त्रीले करको दररेट चलाउँदा नियमित कमिसन खाएको सुन्नमा आएको छ,’ उनले बताए।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App