२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

जिल्ला समन्वय समिति निर्वाचनको तयारीमा जुट्दै दल

जिल्ला समन्वय समिति बाँकेको कार्यालय। तस्बिरः नागरिक

जिल्ला समन्वय समिति बाँकेको नेतृत्व चयन गर्न जिल्लाका राजनीतिक दलले आन्तरिक रुपमा तयारी थालेका छन्। २०७४ मा तत्कालिन संघीय समाजवादी फोरमले जिल्ला समन्वय समितिको प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख जितेको थियो।  

जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखसहित प्रत्येक निर्वाचन क्षेत्रबाट ३/३ जनाका दरले सदस्यहरु निर्वाचित गर्ने प्रावधान रहेको छ। स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु मध्येबाट समन्वय समितिको उम्मेदवार बनाउनुपर्ने कानुनी ब्यवस्था छ। तर, प्रायः निर्वाचित वडा सदस्य मध्येबाट समन्वय समितिको उम्मेदवार बनाउने गरिन्छ। ती उम्मेदवारलाई गाउँपालिका/नगरपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन्।  

कुल ८ वटा स्थानीय तह रहेको बाँकेमा समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १६ जना मतदाता रहेका छन्।  

यसपटक समन्वय समिति निर्वाचनमा कांग्रेसका १२ जना, जनता समाजवादी पार्टी(जसपा)का ३ र नेकपा माओवादी केन्द्रका १ जनाले मतदान गर्दैछन्। कांग्रेसले यसपटक कोहलुर नगरपालिकासहित राप्ती सोनारी, बैजनाथ, डुडुवा र जानकी गाउँपालिकामा प्रमुख तथा उपप्रमुख दुबै पद जितेको छ। नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख र खजुरा गाउँपालिकामा उपप्रमुख कांग्रेसले पाएको छ।  

यस्तै जसपाले नरैनापुर गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पद जितेको छ। यसैगरी नेकपा (माओवादी केन्द्र)ले खजुरा गाउँपालिकामा मात्र प्रमुख पद जित्न सफल भएको छ। यसपटक बाँकेका स्थानीय तहको प्रमुख/उपप्रमुखमा एमाले र राप्रपाको उपस्थिती शून्य छ।  

जिल्लाका अधिकांस स्थानीय तहको कार्यपालिका(बोर्ड) सदस्य पदको परिणाम सार्वजनिक भइसकेको छ। कार्यपालिका सदस्यको निर्वाचनपछि दलहरुको ध्यान जिल्ला समन्वय समितिको निर्वाचनतर्फ केन्द्रित हुन पुगेको हो। समन्वय समितिको नेतृत्व गर्न दलहरुबीच आन्तरिक तयारी भएको हो। मतदाता संख्याको आधारमा यसपटक समन्वय समितिमा कांग्रेस एक्लैको पनि बहुमत पुगेको देखिन्छ।  

समन्वय समितिका लागि आफ्ना उम्मेदवार चयन गर्न कांग्रेस बाँकेले आन्तरिक रुपमा तयारी थालेको छ। समन्वय समितिको निर्वाचन मिति एकिन नभएपनि पार्टीले आन्तरिक रुपमा तयारी सुरु गरेको कांग्रेसका एक पदाधिकारीले बताए।  

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले यस विषयमा पार्टीभित्र अनौपचारिक रुपमा छलफल भएपनि उम्मेदवारको टुंगो लगाउने विषयमा अझै प्रवेश नगरेको बताए। समन्वय समितिको निर्वाचन कांग्रेस एक्लै लड्छ कि गठबन्धन हुन्छ? भन्ने प्रश्नमा गौडेलले यस विषयमा अहिलेसम्म कुनै छलफल नभएको प्रतिक्रिया दिए।  

समन्वय समितिमा यसअघि नेतृत्व गरिसकेको जसपाभित्र यसपटक भने निर्वाचन तयारीबारे सुरसार देखिँदैन। जसपाका केन्द्रीय नेता एवम् पूर्वमन्त्री मोहम्मद ईस्तियाक राईले समन्वय समितिको निर्वाचनका विषयमा जिल्लाले कुनै निर्णय गर्न नसक्ने बताए। ‘समन्वय समितिका विषयमा हामीले केही गर्न सक्दैनौं, केन्द्रबाट के सर्कुलर आउँछ, त्यसपछि मात्र जसपा अगाडी बढ्छ,’ क्षेत्र नम्बर २ का सांसद समेत रहेका राईले भने।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, जसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाबीच नेपालगन्ज उपमहानगरपालिकको नगर प्रमुख र उपप्रमुख पदमा गठबन्धन बनेको थियो। उक्त निर्वाचनमा दुबै पद गठबन्धनले जितेको थियो। तर, नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका(बोर्ड) सदस्य निर्वाचनमा जसपा यस गठबन्धनबाट बाहिरिसकेको छ।  

कांग्रेसले यसपटक समन्वय समितिमा एक्लै लडेपनि सहज रुपमा जित्ने अवस्था देखिएपछि आकांक्षीहरु देखिन थालेका छन्। कांग्रेस बाँकेको कार्यालयमा अहिलेसम्म प्रमुख पदका लागि २ जनाले निवेदन दिइसकेका छन्। कांग्रेस बाँकेका कार्यालय प्रमुख उमेश शर्माका अनुसार डुडुवा गाउँपालिका वडा नम्बर १ बाट निर्वाचित वडा सदस्य ज्ञानेन्द्रकुमार चौधरी र बैजनाथ गाउँपालिका वडा नम्बर ८ का निर्वाचित सदस्य धिरेन्द्रसिंह ठकुरीले समन्वय समितिको प्रमुख पदमा उम्मेदवार बनाउन निवेदन पेश गरेका हुन्। चौधरी समन्वय समितिका निर्वतमान उपप्रमुख पनि हुन्।  

‘अहिलेसम्म प्रमुख पदका लागि दुई जनाको निवेदन प्राप्त भएको छ,’ शर्माले भने, ‘पार्टीको प्रदेश समितिले यही जेठ १८ गतेसम्म समन्वय समितिमा आकांक्षा राख्ने ब्यक्तिको नाम सिफारिस गर्न जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ।’

प्रकाशित: १७ जेष्ठ २०७९ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App