८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौँका ‘लेन’मा बालेन

अघिल्लो निर्वाचन दिनका ती ‘अठोट’ भए पुरा, बालेन बने मेयर

तस्बिरः बालेन शाहको फेसबुकबाट।

काठमाडौँ महानगरको मतगणनाको अन्तिम परिणाम सम्भवत आज साँझसम्म आउँछ। अहिलेसम्मको मत तथ्याङकबाट स्पष्ट विजेता भइसकेका बालेन शाह अन्तिम परिणामपछि औपचारिक मेयर हुनेछन्। र, काठमाडौँका ‘लेन’मा भेटिनेछन्।

मतदाताकाे विश्वास छ, उनी काठमाडौँका गल्लीहरूमा भेटिनेछन्। यानेकी बालेनका नवितम योजना, विकास र सोच ती गल्लीहरूमा देख्न पाइनेछ।

बालेन बालकदेखि युवासम्म/तस्बिरः बालेन शाहको फेसबुकबाट।

बालेन आफ्ना निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा धेरै मतले अगाडि छन्। बालेन र सिर्जना बीचको मतान्तर गणना हुन बाँकी मत संख्या भन्दा अत्यधिक छ। त्यसैले बालेन अनौपचारिक मेयर भइसकेका छन्। मात्र औपचारिकताको पखाई छ। र, तेस्रो स्थानमा छन्, केशव स्थापित।

जीत निश्चित भइसकेपछि बालेनले भनेका छन्, ‘यो जितको स्वामित्व नेपालीले जहाँबाट जसरी लिएपनि हामी खुसी हुनेछौं। र्‍यालीका लागि काठमाडौं आइरहनुपर्दैन।’

मत गणनाको सुरुवातदेखि नै अग्रता कायम राख्दै आएका उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितलाई पछाडि पार्दै विजयी भएका हुन्। मतगणना सुरु भएदेखिनै अग्रस्थानमा रहेका बालेन पहिले स्थापितलाई दोस्रो बनाउँदै अघि बढेको थिए भने पछि उनको निकटम प्रतिस्पर्धीमा सिर्जना सिंह आएकी थिइन्।

भुकम्पपछि पुननिर्माणमा जुट्दै बालेन/तस्बिरः बालेन शाहको फेसबुकबाट।

एक नेपाली र्‍यापरले काठमाडौकै मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिदा निकै चर्चा भयो। केही वर्षदेखि नै काठमाडौँको मेयर बन्ने सपना देखेर उदाएका ३२ वर्षीय युवा बालेन शाह (बालेन्द्र शाह) को थप चर्चा प्रमुख राजनीतिक दलहरू भित्र मात्र भएन। यहाँका बालबालिकादेखि वृद्धवृद्धाको मुखमा उनको नाम झुण्डिरहेको छ। बालेनको चर्चा महानगरभित्र मात्र सिमित छैन।

राजधानीबाट फैलिएको बालेनको चर्चा यतिबेला देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पुगिसकेको छ। नयाँ पुस्ताबीच उनी र्‍यापरका रूपमा चर्चित छन्। र्‍यापको लोकप्रियता र सामाजिक सञ्जालको उपस्थितिले बालेनलाई थप हौस्याए पनि चर्चालाई मतमा बदल्नु सानो चुनौती भने पक्कै थिएन्।

मतदान गर्दै बालेन/तस्बिरः बालेन शाहको फेसबुकबाट।

२०७४ सालको स्थानीय निर्वाचनका दिन उनले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका थिए, ‘मैले आज भोट गरिनँ। म उम्मेदवार थिइनँ। मैले सिभिल इन्जिनियरिङमा स्नातक गरेँ, म स्ट्रक्चरल इन्जिनियरिङको मास्टर्सको आधा बाटोमा छु। मलाई देश बनाउन आउछ। म अर्को पटक भोट गर्छु, र आफैँलाई भोट दिन्छु। म मेरो देशको विकास गर्छु। मलाई अरू कसैको भर लाग्दैन।’

सुभेच्छुककाे माझमा भाेट माग्दै बालेन/तस्बिरः बालेन शाहको फेसबुकबाट।

स्वतन्त्र रूपमा एक्लै मेयरमा उठेका बालेनको कुनै पार्टी छैन। पार्टी, संगठन नै नभएका, राजनीति नै नगरेका बालेनले काठमाडौँ महानगर हाँक्न सक्लान् त? धरैको मनमा यही जिज्ञासा छ।

उनले २०७४ सालमा लेखेको उक्त भनाई यो निर्वाचनसम्म आइपुग्दा निकै सहयोगी भएको छ। अहिले उनको उम्मेदवारीले एकाएक चर्चा त बटुल्यो तर मतदाता कसरी हातमा लिन सके भन्ने कौतुहलता आम नागरिकमा छ।

उनले न त कतै आम भेला गरे, न कतै भाषण नै। बालेनले मतदाताहरूसँग भन्ने गर्थे, ‘मैले तपाईंहरूसँग अरू केही मागेको छैन, मात्र आगामी चुनावमा एक भोट दिनुस्, मलाई एक मौका मात्र दिनुस्।’  

जब बालेनको उम्मेदवारी दर्ता भयो त्यस पश्चात उनको सपोर्टमा विभिन्न सर्तमा होडबाजीसम्म गर्न थाले आमनागरिक। देशभित्र रहेका नागरिक मात्र नभई विदेशमा बासोवास गर्दै आएका नेपाली नागरिकले समेत होडबाजी गरेको पाइयो। की ‘अब देश बन्छ’ भन्ने सर्तमा। विदेशमा रहेका नेपाली नागरिकले समेत आफ्नो घर परिवारलाई ‘तपाईंहरुले बालेनलाई भोट दिनुभएन भने हामी घर फर्कदैनौं’भन्ने जस्ता शर्त राखेको स्वयंम बालेनले बताएका छन्।

 सांगितिक कार्यक्रममा गीत गाउँदै बालेन/तस्बिरः बालेन शाहको फेसबुकबाट।

पुख्यौली घर जनकपुर भएपनि २०४७ साल काठमाडौंको गौरीगाउँमा जन्मिएका बालेन पेशाले इञ्जिनियर हुन्। सानैदेखि संगीततर्फ झुकाव राख्ने बालेन स्ट्रकचरल इन्जिनियर, र्‍यापर, अभिनेता, सङ्गीत निर्माता–निर्देशक, गीत लेखक, कवि इत्यादिको रुपमा परिचित छन्। आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा बालेन्द्र शाह ‘बालेन’  उपनामले चिनिदै छन्।

उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ र कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रकचरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्।  इन्जिनियरिङ पढ्दै गर्दा नै विद्यार्थी राजनीतिलाई नजिकबाट नियाल्ने मौका पाएका बालेन राजनीतिमा नयाँ हुन्, तर काँचा होइनन्। उनी कुनै राजनीतिक दलबाट चुनावी मैदानमा नभइ स्वतन्त्र हैसियतमै जनतामाझ चर्चामा आए। यही चर्चाबीच बालेन को हुन्, उनको राजनीतिक पृष्ठभूमि के हो, राजनीतिमा कसरी आए, उनले आदर्श मान्ने को राजनीतिक व्यक्तित्व को हुन्, उनको निजी जीवन, उम्मेदवार बन्नुअघि उनी के गर्थे इत्यादि जिज्ञासा खोज्न जनता उत्सुक देखिएका छन्।

युवाहरूलाइ सम्बाेधन गर्दै बालेन/तस्बिरः बालेन शाहको फेसबुकबाट।

२०७२ असोज ३ मा नयाँ संविधान घोषणा भएपछि भारतले नेपालमाथि नाकाबन्दी लगाएको समयदेखि बालेनको रुचि राजनीतिमा मोडियो। राजनीतिमा आउनुअघि उनी सामाजिक गतिविधिमा संलग्न थिए। बालेनको परिवारको पृष्ठभूमि राजनीतिक होइन। उनका बुबा आयुर्वेदिक डाक्टर हुन्। बालेनकी श्रीमती सविना जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन्। उनका दाजु कुशल चार्टर्ड एकाउन्टेन्ट छन् भने भाउजू बैंकमा काम गर्छिन्। बहिनी चित्रकार हुन्।

र्‍याप र इञ्जिनियरिङसँगै अघि बढिइरहेका बालेन नाकाबन्दीका बेलादेखि राजनीतिक गतिविधिमा संलग्न हुन थालेका हुन्। नाकाबन्दीताका फेसबुकको ‘एमआरआर’ समूहले आयोजना गरेको सडकभोजमा उनी सहभागी भएका थिए। त्यस्तै अर्को समूह ‘दारी ग्याङ’ ले गर्ने विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुने गरेका थिए।

सांगीतक कार्यक्रममा बालेन/तस्बिरः बालेन शाहको फेसबुकबाट।

पेशागत कामको सिलसिलामा देशका ६५ भन्दा बढी जिल्ला पुगेका शाह २०७२ सालको महाभूकम्पपछि उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए। भूकम्पपछि पुनर्निर्माणको काममा संलग्न भएकै समयमा बालेनले एक फ्रान्सेली इञ्जिनियरसँग काम गर्ने मौका पाएका थिए। बालेन काठमाडौंको मेयर पदलाई कुनै कम्पनीको सिइओसँग तुलना गर्छन्। यो पदलाई राजनीतिसँग तुलना गर्न नमिल्ने बताउँछन्।

बालेनसँग सटिक र प्रष्ट बोल्न सक्ने क्षमता छ। आम जनतामाझ सार्वजनिक हुँदै गर्दा बालेनका कतिपय व्यवहार र भनाइले कतिपय मानिसले उनको व्यक्तित्वको सम्भावित फरक पाटोबारे संकेत गर्ने गरेको पाइन्छ। उनले ‘र्‍याप ब्याटल’ मा प्रयोग गरेका शब्दमा महिलाप्रति सम्मान वा संवेदनशीलता त्यत्ति देखिँदैन। सार्वजनिक रूपमा बालेनले दिने कतिपय अभिव्यक्ति पनि स्वाभाविक लाग्दैनन्। सधैँ कालो चस्मा लगाउने बालेनको पहिरन शैली पनि एक राजनीतिज्ञका लागि कम स्वभाविक देखिन्छ।

बालेन शाहले ‘नेता जति सबै चोर देश लुटी खा’ छन्, खाने बेला एक, गर्ने बेला फुटिरा’ छन्, नांग्रेस, नेमाले, नाओवादी सबै मिली देश खाउँ बाँडी हामी’ गत वर्ष सार्वजनिक गरेको ‘बलिदान’ बोलको गीतका यी शब्द हुन्। बालेनले आफ्ना अन्य गीतमा जस्तै यसमा पनि देशको सामाजिक र राजनीतिक अवस्थामाथि टिप्पणी गरेका छन्। राजनीतिक दलहरूले जनताका लागि नभएर स्वयं आफ्नो लागि मात्रै सोच्ने गरेको भन्दै उनले यो गीतमा असन्तुष्टि पोखेका छन्। गत वर्ष सार्वजनिक भएको उक्त गीत अहिले फेरि चर्चामा छ। बालेन आफूले पनि काठमाडौंमा मात्रै देशभर थुप्रै समस्याहरू देखेका छन्।

कक्षा ९ मा हुँदा उनले ‘सडक बालक’ बोलको गीत लेखेका थिए। स्नातकमा पढ्दा मात्र उक्त गीत सार्वजनिक गरे। सडकमा बस्ने बालबालिकाप्रति हुने विभेद र सामाजिक असमानता उनले गीतमा प्रस्तुत गरेका छन्। त्यसपछि, ‘आम नेपाली बुबा’, ‘प्रहरी प्रतिकार’, ‘नेपाल हाँसेको’जस्ता गीत निकाले, जसमा देशको सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ।र्‍यापर बालेनलाई चिनाउने उनको जीवनको पाटो हो।

बालेनको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमार्फत् बढी छ। विभिन्न क्षेत्रका सेलिब्रिटीहरू उनका पक्षमा देखिएका छन् भने धेरै आमनागरिकको लागि देश विकासमा एक विश्वासको पात्र मानिएका छन् यतिबेला। उनी आफूले काठमाडौं महानगरको नेतृत्व गर्न पाए डिग्रीले भन्दा सीपले रोजगारी पाउने बताउँदै यसअघि नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट दिनु उचित नहुने बताएका थिए।

र्‍याप र इञ्जिनियरिङ सँगै अघि बढाइरहेका बालेन राजनीतिमा भने सुरूमा विवेकशील पार्टीप्रति आकर्षित भएका थिए भन्ने बुझिएको छ। विवेकशील र साझा पार्टी एक भएर छुट्टिएका बेला उनी उक्त पार्टीको सम्पर्कमा पुगेको स्रोत बताउँछ। त्यही समयमा उनले आगामी चुनावमा विवेकशीलबाट मेयर उठ्ने चाहना राखेका थिए तर बालेनले विवेकशीलको सदस्यता भने लिएनन्। उनले मेयरमा उठ्ने सपना पनि छाडेनन्। आफ्नै तरिकाले उनी त्यसको तयारीमा लागे। त्यही विवेकशीलको समर्थनमा बालेनको उदय भएको पाइन्छ।

बालेनको उदय नेपाली राजनीतिको सामान्य परिघटना नभइ नियमित आकस्मिकता हो। उनको उदयमा विशेषगरी युवा जमात निकै उत्साहित छ। न राजावादी, न यो पार्टी, न त्यो पार्टी, आफैं ‘राजा’ हुने बाटोमा उभिन सक्ने नयाँ पुस्ताको विचारधाराको आलोकमा उदाए बालेन। दलहरूको अकर्मण्यता, अयोग्यता, अपरिपक्वता र जनचाहनाप्रति दलहरूको उदासिनताविरुद्धमा बालेन उदाएका हुन्। जनताका आसा र भरोसा पनि छ। अब पनि दलहरूले पाठ नसिके पुनः थुप्रै बालेनहरू जन्मनेछन्।

बालेनको उदयसँगै मधेसले पनि आफ्नो भूमिपुत्रलाई काठमाडौँको ‘नायक’ बनेको हेर्न पाएको  छ। युवा पुस्ता राजनीतिमा आए अब देश बन्छ भन्ने आमनागरिकको आश छ। पछिल्लो समय बालेनका कारण नयाँ पुस्ताले राजनीतिमा चासो बढाएको पाइन्छ।

बालेनले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरेका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन्। 

मेयरमा जित सुनिश्चित भएपछि बालेनले सामाजिक सञ्जालमार्फत् आफ्ना मतदाता, समर्थक र निर्वाचनमा सामेल सम्पूर्णलाई धन्यवाद दिएका छन्। मतदाताहरूले आफूलाई काठमाडौँ महानगरको जिम्मेवारी बोक्न योग्य ठहर गरेकोमा उनले खुसी व्यक्त गरेका छन्।

मतदाताको विश्वासमा ‘कसैको जित वा हार नहुने’ बताएका छन् भने विजय जुलुस निकालेर अरूलाई पराजित गरेको संकेत नगर्न पनि अनुरोध गरेका छन्।

‘ठाउँ–ठाउँबाट र्‍यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौं। हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरू कोही पनि र्‍यालीका लागि काठमाडौं आउने दुःख गर्नु पर्दैन। यो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं,’ उनले भनेका छन्। खुशीयालीको सट्टामा आफूहरू भएकै ठाउँबाट धन्यवाद र्‍याली गर्न अनुरोध पनि गरेका छन्।

प्रकाशित: १२ जेष्ठ २०७९ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App