उदयपुरको कटारी नगरपालिकामा मेयरमा गठबन्धन र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। बुधबार बिहान घोषित नतिजा अनुसार गठबन्धनबाट मेयरका प्रत्यासी नेपाली काँग्रेसका राजेशचन्द्र श्रेष्ठ र उपमेयरमा एमालेकी गीता खड्का विजयी भएका छन्।
निर्वाचन अधिकृत राजकुमार राउतका अनुसार ६ हजार ४ सय १७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९ सय ५२ ल्याएका छन् भने एमाले उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७ सय १५ मतमा चित्त बुझाउनु परेको छ। बराल माओबादीबाट टिकट नपाएपछि बागी भएर उम्मेदवारी हालेका हुन्।
काँग्रेसबाट बागी उम्मेदवार बालकृष्ण थापाले २ हजार १ सय ५४ मत पाउँदा एमालेबाट बागी उठेकी भीमकुमारी राउतलाई ४ सय ४२ मत परेको छ। मंगोल नेश्नल अर्गनाईजेसन (एमएनओ)का प्रेमबहादुर मगरले १ सय ५३ र राप्रपाका पुष्पराज भण्डारीले ९६ तथा नेपाल मजदुर किसान पार्टीका चन्द्रबहादुर कार्कीले १५ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवारहरु बराल माओवादीका प्रदेश कमिटी सदस्य हुन् भने राउत पनि एमालेकी प्रदेश सदस्य हुन्। यसअघिको चुनावमा मेयरमा एमालेबाट पराजित बराल टिकटको अन्तिम दौडसम्म रहे पनि गठबन्धन गर्दा काँग्रेसको मेयर भागमा परेपछि स्वतन्त्र उम्मेदवारी हालेका थिए। त्यस्तै यस अघिकी उपमेयर राउतले पनि अन्तिमसम्म मेयरमा दावी गरेकोमा पहिलेकै मेयर ज्ञानेन्द्र श्रेष्ठलाई पार्टीले टिकट दिएपछि बागी हालेकी हुन्।
उपमेयरमा भने निकटतम प्रतिस्पर्धी माओबादीका विनोद कटुवालभन्दा २ हजार ६ सय हाराहारी मतान्तरले एमालेकी खड्का विजयी भएकी छिन्। खडकाले ६ हजार ४ सय १३ मत पाउँदा कटुवालले ३ हजार ८ सय २१ मा चित्त बुधmाउनु परेको छ। उपमेयरका स्वतन्त्र उम्मेदवार नेकपा एसका हृदय तामाङले ३ हजार ७ सय २३ मत ल्याएका छन् भने अर्का स्वतन्त्र कृष्ण थापाले ३ हजार ३ सय ४६ मत पाएका छन्।
मेयरमा पराजित भए पनि वडाध्यक्षतर्फ भने एमालेले बहुमत कब्जा गरेको छ। १४ वटा वडा रहेको कटारी नगरपालिकामा एमालेले ७, काँग्रेसले ३, माओबादीले १, एकीकृत समाजबादीले १ र स्वतन्त्रले २ स्थान जितेका छन्। स्वतन्त्रतर्फका उम्मेदवारहरु दुईजना वडाध्यक्ष विजयी भएका छन्।
वडा नं. १ मा एमालेका पदमलाल मगर वडाध्यक्ष विजयी हुँदा ५ नं. मोहन तामाङ र ६ मा प्रेमबहादुर मगर, १० मा क्षेत्रबहादुर खड्का, ११ मा अनन्त हायु, १३ मा शम्भु श्रेष्ठ र १४ नं. मा अम्बर मगर वडाध्यक्ष जितेका छन्। त्यस्तै काँग्रेसका प्रेमबहादुर थापा २, पुष्कर खड्का ३ र सुविन ढुगाना ७ नं. मा वडाध्यक्ष चुनिएका छन्।
१२ नं. वडामाा माओबादीका यम्बरबहाुदर कटुवालले र १० नं.मा एकीकृत समाजवादीका बेगबहादुर मगर वडाध्यक्ष जितेर पार्टीको अस्तित्व कायम राख्न सफल भएका छन्। पार्टीले टिकट नदिएपछि बागी हालेका वडा नं. ४ मा भूपेन्द्रसिंह तामाङ र ८ नंं मा नविन्द्रकुमार तामाङ स्वतन्त्रबाट वडाध्यक्ष जिन्त सफल भएका छन्।
प्रकाशित: ११ जेष्ठ २०७९ ०७:३३ बुधबार