२२ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादीको गढमा कांग्रेसः प्राथमिकतामा हिंसा अन्त्य

तस्बिरः अमृताकुमारी केसी।

कुनै समय माओवादीको जग अनि गढ मानिएको रोल्पा गंगादेव गाउँपालिकाको उपाध्यक्षको कुर्सीमा नेपाली कांग्रेसकी अमृताकुमारी केसी बसेकी छिन्। युवा उमेरकी उनीसंग गाउँलाई गतिलो बनाउने अठोट छ। २०४५ सालमा गंगादेव गाउँपालिका ३ जीनाबाङमा जन्मिएकी उनी विद्यार्थीकालदेखि राजनीतिमा सकृय भएकी थिइन्।  

माओवादी द्वन्द्वका समयमा कांग्रेस भएकै कारण परिवार विस्थापित भएपछि राजनीतिको भुत चढेकी अमृताले २०७४ सालको स्थानीय तह निर्वाचनमा ३४ मतले पराजित भएपनि यो पटक सानदार जित हासिल गरेकी हुन्। माइती र घर तिरका परिवार राजनीतिक पृष्ठभूमि बाेकेका भएकाले पनि उनलाई निर्वाचन त्यति भारी भएन।

‘घरेलु हिंसा, महिला हिंसा अन्त्य गर्ने मेरो मुख्य प्राथमिकता हुनेछ। आज पनि महिलाहरु हिंसा सहेर बस्न बाध्य छन् त्यसको अन्त्य गर्नै पर्छ,’ अमृता भन्छिन्, ‘मैले राजनीति गरेको सेवा गर्नका लागि हो त्यसैले भेदभाव नगरी काम गर्छु। न्यायिक समितिलाई ब्यवस्थित र सेवामुखी अनि विश्वसनीय बनाएर लैजान्छु। सुरुवातमा अलि असजिलो भएपनि सेवा प्रवाहमा समस्या आउन दिन्नँ। लक्षित समुदायका लागि सबैको सल्लाहमा कार्यक्रमहरु सुरु गर्छु।’

‘जनताको सेवा गर्ने हो। शिक्षा स्वास्थ्य सुधार गर्दै पहिलेका जनप्रतिनिधिले बिगारेका काम सुधारेर लैजाने योजना बनाएको छु,’ अमृता भन्छिन्, ‘सुशासन कायम गर्दै महिलाले पनि काम गर्न सक्छन् भनेर देखाउने मन छ। घोषणा पत्रलाई आधार बनाएर काम गर्दा सहज हुने देखेको छु।’ भौतिक विकास संगै मानवीय विकासलाई पनि अगाडि लैजान सकेमा सबैलाई सहज हुने अमृताको ठहर छ।

पहिलेका जनप्रतिनिधिले सुशासन कायम गर्न र जनमुखी सेवा प्रदान गर्न नसकेका कारण यो पटक आफूहरुलाई निर्वाचन जित्न सहज भएको उनको दाबी छ। अमृता भन्छिन्, ‘अघिल्लो कार्यकाल जितेको माओवादीले दम्भ अनि विपक्षीलाई प्रतिबन्ध जस्तै ब्यवहार गरेको थियो, हामीले त्यसको अन्त्य गर्नेछौँ। सबैलाई समेटेर जान्छौँ।’  

चुनाव जितिसकेपछि सबै जनता आफ्नै हुन भन्ने ठानेर काम थालनी गरियो भने बिबादमा पनि आइँदैन भन्ने बुझेकी उनी सबै दलसंगको सल्लाहले अगाडि बढ्ने सोचमा छिन्। एक छोरा र एक छोरीकी आमा समेत रहेकी अमृताका श्रीमान माविका स्थायी शिक्षक हुन्। ‘आफूले राजनीति गर्दा परिवारको उल्लेख्य सहयोगप्रति उनी गर्ब गर्छिन्।  

गाउँपालिकाको उपाध्यक्ष संगै आमा, श्रीमती, बुहारी सबैको कर्तव्यलाई एकैसाथ मिलाएर लैजान खासै चुनौती नभएको बताउने अमृता आफूसंग राम्रो गर्ने अवसर आएको बताउँछिन्। ‘अहिले सबैको मन जितेर राम्रो काम गरेँ भने पो फेरि माथि उक्लिन पाइएला,’ उनी भन्छिन्। राजनीतिको अन्त्य नहुने बताउँदै उनी भविष्यमा धेरै गरेर देखाउनेमा ढुक्क छिन्।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा गंगादेब गाउँपालिकाको प्रमुख, उपप्रमुख लगायत बहुमत जनप्रतिनिधि कांग्रेसले जितेको छ। एमाले र माओवादीसंगको त्रिपक्षीय भिडन्तमा कांग्रेसले बाजी मारेपछि अघिल्लो पटक जित हासिल गरेको माओवादीले आत्म समिक्षा गर्नुपर्ने राजनीति गर्नेहरु बताउँछन्।

प्रकाशित: १० जेष्ठ २०७९ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App